आदिवासी जनजाति समुदाय ‘बिक्न सक्ने वर्ग’ भनेपछि सोविता गौतमको चर्को आलोचना

सोबिता गौतमले गरिन् गुरुङ र थारु समुदायको अपमान

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, २२ : ०६
आदिवासी जनजाति समुदाय ‘बिक्न सक्ने वर्ग’ भनेपछि सोविता गौतमको चर्को आलोचना

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले आदिवासी जनजाति समुदायको अपमान गरेकी छन् । यस प्रकरणमा नेपाल आदिवासी जनजाति महासंघ चितवनले गम्भीर आपत्ति जनाएको छ। 

एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गौतमले गुरुङ र थारु समुदायलाई लक्षित गरी अपमानजनक र भ्रामक अभिव्यक्ति दिएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गौतमले आफ्नो सम्बोधनमा यस क्षेत्रका वीर र सचेत आदिवासी समुदायलाई 'पैसाले किन्न सकिने' र 'बिक्न सक्ने वर्ग' भनी टिप्पणी गरेकी थिइन्। महासंघका अनुसार उनले यी समुदायलाई सोझो र पैसामा बिक्ने भनी वर्गिकृत गरेर आफ्नो संकीर्ण र नश्लवादी सोच उजागर गरेको आरोप लागेको छ। यसले वर्षौंदेखि आफ्नो पहिचान र अधिकारका लागि लडिरहेका समुदायको मानमर्दन गरेको महासंघको ठहर छ।

आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज भएको भन्दै महासंघले गौतमको भनाइको खण्डन गरेको छ। 

मतदातालाई पैसा दिए लिनुस् भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको विज्ञप्तिमा भनिएको छ।

महासंघले सोविता गौतमलाई आफ्नो अभिव्यक्तिप्रति २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्न र लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ। 

यदि उम्मेदवार र उनको दलले गल्ती स्वीकार नगरेमा चितवन क्षेत्र नम्बर ३ मा उनलाई चुनावी बहिष्कार गर्ने र सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी महासंघले दिएको छ। 

अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वाभिमान र पहिचानमा खेलबाड गर्ने छुट कसैलाई नभएको र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार उम्मेदवार स्वयं हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस