मंगलबार ग्रस्तोदितखण्डग्रास चन्द्र ग्रहण लाग्ने

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, १६ : ०२
मंगलबार ग्रस्तोदितखण्डग्रास चन्द्र ग्रहण लाग्ने

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)चन्द्र ग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख गरिएको छ । चन्द्र ग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्र ग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्र ग्रहण देखिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्ण रूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्र ग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्र ग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्र ग्रहण लागेको थियो । चन्द्र ग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस