डडेल्धुरा । अमरगढी नगरपालिका-२ मौरडाका खेमराज जोशीले छ वर्ष अघि रु. दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए । उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु. २० देखि रु. २५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका हुन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए ।
जोशी अहिले ३३ वर्षका हुन् । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए । काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए । अहिले परिवारको सबै खर्च कटाएर वार्षिक रु. आठ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।
दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए । छ वर्षअघि सुरु भएको च्याउ खेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन् ।
च्याउ खेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए । “पहिले च्याउको बीउ लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उनले भने, “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।”
उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए । एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे ।
“डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु”, जोशीले भने, “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।” च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक रु. सात लाखसम्म बचत भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ मंसिर २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु