चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।
आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।
जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उनले बताए । अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ ।
सुवेदीले भने, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।” सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो ।
पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उनले जानकारी दिए ।उनले भने, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।” केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए।
उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु एक अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान