दशैँमा रङ : व्यापारीलाई बेच्न र ग्राहकलाई किन्नको हतारो

ज्योती तिलाञ्जलि

शनिबार, २७ असोज २०७५, १० : ४०
दशैँमा रङ : व्यापारीलाई बेच्न र ग्राहकलाई किन्नको हतारो

काठमाडौँ । यतिबेला नेपालीहरुको महान् चाड दशैँको रमझम छ । दशैँको रमझमसँगै बजार पनि उत्तिकै तातेको छ । व्यापारीलाई सामान बेच्नको हतारो छ भने ग्राहकलाई सामान किन्नको । चाडवाडमा आफ्नो घर सुन्दर बनाउने चाहना धेरैमा हुन्छ । त्यसैको प्रभावले अरु बजार जस्तै रङको बजार पनि आफ्नो व्यापारमा व्यस्त छ । रङले घरलाई आकर्षक बनाउने हुनाले घरमा रङको प्रयोगको आफ्नै महत्व छ ।

दशैँको आसपासमा रङको व्यापारमा अरु समयको भन्दा स्वाभाविक रुपमा धेरै हुने कुरा प्रकाश इन्टरप्राइजेजका प्रोपाइटर प्रकाश ढकाल बताउनुहुन्छ । २०७२ सालको महाभूकम्पपछि अहिले गाउँमा समेत आधुनिक घरहरु बनेका छन् । ती घरहरुमा पनि कमेरो र माटोको सट्टामा बजारमा पाइने विभिन्न रङहरु प्रयोग हुन थालेका छन् जसका कारण पछिल्लो दुई वर्षमा झन् रङको व्यापारमा सुधार आएको छ । त्यस्तै नेपालमा रङ बेच्ने कम्पनीहरुले चाडवाडलाई लक्षित गरेर विविध उपहार योजनाहरु ल्याउने गर्नाले पनि दशैँमा रङको व्यापार धेरै हुने गरेको छ । ग्राहकको मागअनुरूप नेपाली बजारमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न रङ उपलब्ध छन् ।

नेपाली बजारमा यती, एसियन, पशुपति, बर्जर, कन्साई नेरोल्याकलगायतका रङका ब्रान्ड उपलब्ध छन् । नेपालमा उपलब्ध रङमा बाहिर तथा भित्र दुवै भागमा प्रिमियम, इकोनोमिक र रेगुलर गरी विभिन्न प्रकारका रङ उपलब्ध छन् । भित्ता रङ लगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर आदि पनि रङकै उत्पादन हुन् । नेपालमा उत्पादन गर्ने पेन्टसले एक्स्टेरियर तथा इन्टेरियरमा स्पेसल इफेक्ट्स, उड फिनिस, इनामेल जस्ता कलर पनि उत्पादन गर्दै आएका छन् । पछिल्लो समय नेपाली समुदाय घरमा लगाउने रङका विषयमा धेरै सजग हुन थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस