मुक्तान थेवाको अखण्ड आलाप सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०७५, १६ : ३९
मुक्तान थेवाको अखण्ड आलाप सार्वजनिक

काठमाडौँ । कवि मुक्तान थेबा आफ्नो तेस्रो कविता सङ्ग्रह ‘अखण्ड आलाप’ लिएर आएका छन् ।
बुधबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । सांग्रिला बुक्सले प्रकाशन गरेको कविता कृतिमा ४२ वटा कविता संग्रहित छ । पुस्तक सार्वजनिक कार्यक्रमकी वक्ता निभा शाहले कवि थेबाले विसङ्गतिविरुद्ध निडर भएर वैचारिक रुपमा स्पष्ट कविताहरू लेखेको बताइन् । लैंगिक दृष्टिकोणबाट हेर्दा संग्रहका केही कविताहरूमा समस्या देखिएपनि समग्रमा थेबाका कविताहरूमा आगो रहेको शाहले टिप्पणी गरिन् ।
अर्का वक्ता राजेन्द्र महर्जनले थेबाका कविताहरूमा नेपाली समाजमा वर्षौंदेखि रहेको शोषण र उत्पीडनविरुद्धको आवाज मुखरित भएको बताए । नेपाली समाजको विविधता, विविधताबीचको द्वन्द्व र त्यसले माग गरेको रूपान्तरणको मुद्दा थेबाका कविताहरूमा प्रतिविम्बित भएको उनले टिप्पणी गरे ।
त्कवि भूपाल राईले थेबाको कविता लामो समयदेखि देशमा रहेको संरचनागत विभेदमाथिको चुनौती भएको बताए । लामो समयदेखि नेपाली कविता एकल भाषी, जाति र नश्लको सिण्डिकेटको रुपमा रहेकोमा थेबाको कविताले त्यो सिण्डिकेट समेत तोडेको राईको टिप्पणी थियो । कवि थेबाको यसअघि संयुक्त कविता संग्रहका रूपमा ‘आफर’ र तामाङ भाषामा लेखिएको कविता संग्रह ‘काकलिङ’ प्रकाशित छन् ।

 

प्रतिक्रिया दिनुहोस