बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ ।
द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रूपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो । सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाले बूढीकोप्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज पोलेमा सुखशान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेम सिंह धामीले बताए । बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ ।
ओल्के सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।
पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन रहिआएको छ । नयाँपुस्ताको ध्यान नपुग्दा बूढी पोल्ने पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण