काठमाडौं। चितवनका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् ।शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी सङ्घ चितवनको २८औं साधारणसभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।
विगतमा नारायणगढको पुल्चोक बजार सधैं खुला रहेको स्मरण गर्दै होटल व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रविन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गरे ।
होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ थियो । उनले भने, 'होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्ने थलोजस्तो भएको छ ।'
उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए ।
नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राखे । उद्योग वाणिज्य सङ्घ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रूपमा सबै व्यवसायीलाई फाइदा भएको बताए ।
उनले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । सङ्घले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनको भनाइ थियो ।होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १६ : २३
लेखकबाट थप