काम थाल्नुअघि नै विवादमा घेरिए स्टारबक्सका नयाँ सीईओ

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १६ : ४५
काम थाल्नुअघि नै विवादमा घेरिए स्टारबक्सका नयाँ सीईओ

वाशिङ्टन डीसी । अमेरिकी कफी हाउस चेन स्टारबक्सका नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन निकोल पद सम्हाल्नुअघि नै विवादमा फसेका छन् । हरेक दिन कार्यालय जान कर्पोरेट प्लेन प्रयोग गर्न कम्पनीले उनलाई दिएको अफर लेटरबाट खुलासा भएदेखि नै मानिसहरूले सीईओहरूको जीवनशैलीमाथि प्रश्न उठाउन थालेका छन्।

कम्पनीले क्यालिफोर्नियामा रहेको घरबाट निकोललाई कर्पोरेट जेटमा सियाटलस्थित कम्पनीको मुख्यालयसम्म पुर्‍याउने पत्रमा उल्लेख गरिएको छ । अर्थात् उनी झन्डै १ हजार ६०० किलोमिटर दूरी पार गरेर कार्यालयमा पुग्नेछन् ।

कार्यालय आउजाउको उनको सारा खर्च कम्पनीले बेहोर्ने पत्रमा भनिएको छ । यो खबर बाहिर आएपछि सामाजिक सञ्जालमा मानिसहरूले निकोलको आलोचना गरिरहेका छन् ।वातावरणीय मुद्दाहरूमा कम्पनीको सार्वजनिक अडान र यसका शीर्ष अधिकारीहरूको जीवनशैलीमा ठूलो भिन्नता देखिएको मानिसहरूले बताइरहेका छन् ।

निकोलले सेप्टेम्बर ९ मा विश्वको सबैभन्दा ठूलो कफी शप चेन स्टारबक्सको सीईओको पदभार ग्रहण गर्दैछन् । निकोलले पाएको जब अफरमा उनले हप्तामा कम्तिमा तीन दिन कम्पनीको मुख्यालयबाट काम गर्नु पर्ने भनिएको छ ।

जागिरका लागि निकोलले घर सर्नुको सट्टा कम्पनीलाई नै आफ्नो आउजाउको खर्च बोकाएका छन् । 

प्रतिक्रिया दिनुहोस