नेपाली कविताको भिडियो निर्माण गरे प्रभासले

आइतबार, २१ असोज २०७५, १४ : ३५
नेपाली कविताको भिडियो निर्माण गरे प्रभासले

- ज्योति तिलाञ्जलि
काठमाडौं ।
विश्वमै पहिलोपटक नेपाली कवितामा चलदृश्य निर्माण भएको छ । कविता माथि चलदृश्य निर्माण नेपाली कविता विधाका लागि पहिलो र नूतन आयाम हो । नेपाली कविता क्षेत्रमा आफैलाई कविका रुपमा परिचित बनाएका निर्देशक हेम प्रभासको निर्देशनमा बुझ्नै सकिन आज तिमीलाई कवितामाथि चलदृश्य निर्माण भएको हो । उक्त चलदृश्य शनिबार विमोचित कवि विकास थापाको कविता संग्रह ओकलेर आगो भित्रबाट साभार गरिएको हो । काठमाडौँको सर्वनाम नाटकघरमा यो चलदृश्यको सार्वजनिकीकरण गरिएको थियो ।

चलदृश्य कवितामाथिको नौलो आयाम हो, खासमा के हो त कविताको चलदृश्य ? निर्देशक हेम प्रभास भन्नुहुन्छ, “कवितालाई सिनेशैलीमा प्रस्तुत गर्नु नै चलदृश्य हो । जसमा सिने क्षेत्रमा आवद्ध कलाकारहरु नै हुनुपर्दछ । कविता लेखनमा पनि चलदृश्यको चेतनालाई ख्याल गरिएको हुनुपर्दछ ।”

निर्देशक हेमका अनुसार कविताको चलदृश्यले कविता विधालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्नेछ र कवितालाई विश्वबजारमा चिनाउन सहयोग गर्नेछ । त्यस्तै यो विज्ञान र प्रविधिको समय भएकाले कवितालाई पुस्तकमा मात्र सीमित नराखेर दृश्यात्मक सामग्रीका रुपमा प्रस्तुत गरिएको हो । यस चलदृश्यमा चलचित्र क्षेत्रमा आवद्ध कलाकारहरु वर्षा शिवाकोटी र पुष्पल खड्काको अभिनय रहेको छ ।  

नाटक तथा उपन्यासका केहि भिडियोहरु निर्माण भएका भए पनि नेपाली कविता माथि भने भिडियो निर्माण भएका थिएनन् । शनिबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी कवितामाथिको पहिलो म्यूजिक भिडियो प्रदर्शन गरियो । जुन भिडियोमा अहिलेका लोकप्रिय कलाकार पुष्पल खड्का र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । कवि विकास थापाको ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एउटा कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ शीर्षकको कवितालाई श्रव्यसँगै दृश्यमा उतारिएको छ । शनिबार प्रशर्दन गरिएको उक्त भिडियो आउँदो शनिबार युट्युब रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस