थामे बाढीले नाम्चेभन्दा माथिको आवतजावत ठप्प, ९३ जनाको उद्धार

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, ११ : २६
थामे बाढीले नाम्चेभन्दा माथिको आवतजावत ठप्प, ९३ जनाको उद्धार

सोलुखुम्बु। बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवतजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटर जति पदमार्ग नदीको कटानमा परेको छ ।जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवतजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए ।

थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोशी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

उनले भने, 'थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टीभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्त लाग्दो छ ।'

बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो ।नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरी आर्मी क्याम्प पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस