कञ्चनपुर । एनोफिलिज जातको पोथी संक्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका बिरामी बढ्न थालेका छन् । अधिकांश भारतमा मजदुरी गरेर फर्किएकाहरूमा औलो सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्म २ सय ४७ जनामा औलाका बिरामी फेला परेका छन् । त्यसमध्ये २९ जना स्थानीयमा मात्रै सङ्क्रमण भेटिएको हो । बाँकी सबै भारतबाट मजदुर गरेर फर्किएकाहरूमा औलो सङ्क्रमण भेटिएको उनले बताए ।
औलोका दुई परजीवीहरू प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुन सक्ने सम्भावना उच्च रहने स्वास्थ्यकर्मी बताउँछन् ।
अधिकृत जोशीका अनुसार सुदूरपश्चिममा आयातित पाँच वर्षमाथिका प्लाज्मोडियम भाइभेक्सबाट संक्रमित पुरुष एक सय ४६ र महिला ३३ छन् । प्लाज्मोडियम फाल्सिपारमबाट पाँच वर्षमाथिका २४ जना पुरुषमा सङ्क्रमण देखा परेको छ ।
स्थानीय प्लाज्मोडियम भाइभेक्सबाट पाँच वर्षमाथिका पुरुष ८ र महिला ३ जना संक्रमित भएकामा प्लाज्मोडियम फाल्सिपारमबाट तीनजना पुरुष संक्रमित भएका छन् । आयातित पाँच वर्षमुनिका प्लाज्मोडियम भाइभेक्सबाट पुरुष दुई र महिला एकजनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै, १८ पुरुष र दुई महिला प्लाज्मोडियम भाइभेक्सको सङ्क्रमण दोहरिएको अवस्थामा पाइएको अधिकृत जोशीको भनाइ छ । सबैभन्दा बढी औलोका बिरामी कैलालीमा एक सय ३५, कञ्चनपुरमा २९ र अछाममा २४ जना रहेका छन् ।
त्यसपछि डोटीमा १६, बाजुरामा १५, डडेल्धुरामा सात, बैतडीमा चार र दार्चुलामा दुईजना औलोका आयातित बिरामी फेला परेका छन् । बझाङ जिल्लामा भने सो अवधिमा कुनै पनि औलोका बिरामी भेटिएका छैनन् । ‘बर्सेनि भारतबाट फर्कने व्यक्तिहरूमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातित बिरामीको सङ्ख्या बढ्दो छ,’ अधिकृत जोशीले भने, ‘खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाइनुपर्छ ।’
तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भए पनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा पछिल्लो केही वर्ष पहाडीदेखि उच्च हिमाली जिल्लामा पनि औलोका आयातितसँगै स्थानीय बिरामी फेला पर्न थालेका छन् । तापक्रमको उतारचढावका कारण लामखुट्टेले बस्नका लागि वातावरण अनुकूल बनाएको उनको भनाइ छ ।
लामखुट्टे यातायातका साधनको ओहोरदोहोर गर्ने क्रम सँगै पहाडी र हिमाली जिल्लामा पुगेको उनी बताउँछन् । उनका अनुसार औलो रोग निवारणका लागि कीटनाशासक झूल वितरण, कीटनाशक विषादी छर्कने कार्यसँगै जनचेतना फैलाउने कार्य प्रदेशका ९ वटा जिल्लामा गरिँदै आएको छ ।
औलोबाट बच्न साँझबिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झूलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनुहुँदैन । नेपालले औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ : प्रधानमन्त्री ओली