काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणले उद्योगीसँग मिलेर १६ अर्ब भ्रष्टाचार गरेको दाबी गरेका छन् ।आफू गलत प्रमाणित भए टुँडिखेलमा झुन्डिन तयार रहेको उनको भनाइ छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले महालेखा परीक्षकको ५६ औंदेखि ६१ औं प्रतिवेदनसम्म लगातार बेरुजु देखाइएको प्रसंग उल्लेख गरेका थिए ।
'५६ औं देखि ६१ औं प्रतिवेदनसम्म लगातार बेरुजु देखाइएको छ,' उनले भने, '६१ औं प्रतिवेदनमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखिन्छ । महालेखाको बेरुजु सार्वजनिक लेखा समितिले नै छलफल गर्ने हो । हामीले त्यही छलफल गरेका हौँ,' उनले भने ।
उनले करिब २२ अर्ब बेरुजु भएपनि पेनाल्टीसहित जम्मा ८ अर्ब मात्र उठाउने तत्कालीन सरकारको निर्णयमाथि प्रश्न उठाए ।'व्यापारीसँग मिलेर राज्यको १६ अर्ब डुबाउन खोजिएको होइन ?' सभापति पोखरेलको प्रश्न थियो ।
पोखरेलले बक्यौता मात्र नभएर प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अन्य गम्भीर प्रकारका उजुरी पनि परेको खुलासा गरे ।उनले लेखा समितिमा यही विषयमा पटक-पटक छलफल भएको बताए ।
तीनपटकसम्म उद्योगी, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ र अन्य सरोकारवालासँग छलफल भएको उनको भनाइ थियो ।लेखा समितिको पछिल्लो बैठकले लोड प्रोफाइल डाटा माग गर्ने निर्णय गरेको उनको भनाइ छ । '१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टाचारी ? यो कहाँको न्याय हो ?' पोखरेलको प्रश्न छ ।
उनले उद्योगी, सरकार र प्राधिकरणको मिलेमतोमा राज्यलाई १६ अर्ब घाटा गराउने प्रपञ्च भएको आरोपसमेत लगाए ।सभापति पोखरेलले २०७६ सालमै तत्कालीन सांसद मीनेन्द्र रिजालको नेतृत्वमा गठित उपसमितिले प्राधिकरणका प्रबन्ध निर्देशकमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको प्रसंग समेत उप्काए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १५ : ५५
लेखकबाट थप