नेपालगन्ज । निरन्तर वर्षाले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ।
‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न।’
दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ। तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।
राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शङ्कर मात्र नभई राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेले बताए।
‘दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छौँ।’
सांसद सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी चिन्तित छन्।
‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन। बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ,’ नरैनापुर-६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने, ‘डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार गर्यौँ तर हाम्रो दुःख राज्यले सुनेन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा