काँक्रोको बीउ बेचेरे पर्वतको धाइरिङका किसानले गरे दुई करोड आम्दानी

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १३ : २९
काँक्रोको बीउ बेचेरे पर्वतको धाइरिङका किसानले गरे दुई करोड आम्दानी

पर्वत। जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर दुई करोड रुपैयाँ भित्र्याउन सफल भएका छन् । व्यावसायिक रूपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरूले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए ।

यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रूपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् ।

'गतवर्ष प्रति किलो पाँच हजारदेखि छ हजारमा बिक्री भएकामा यसपटक मूल्य बढेर रु १० हजारदेखि दश हजार पाँच सयसम्ममा बिक्री भयो,' उनले भने ।व्यवसायीहरूले गाउँमै आएर बीउ खरिद गर्ने गरेको उनको भनाइ छ । काँक्रोको बीउ बिक्री गरेर यसवर्ष थोरैमा तीन लाखदेखि धेरै आम्दानी गर्नेले दश लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । 

 

 

 

 

 

राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बीउ उत्पादन राम्रो भएको किसान बलराम आचार्यले बताए । किसान आचार्यले भने, 'गतवर्ष ४० किलो उत्पादन भएकामा यस वर्ष ७५ किलो उत्पादन गरेँ।' प्रतिकिलो दश हजारका दरले बिक्री गर्दा सात लाख ५० हजार आम्दानी भएको उनको भनाइ छ ।  

यहाँ उत्पादन भएको काँक्रोको बीउ सङ्कलन गरेर एक हजार किलो काठमाडौंस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको किसान पौडेलले बताए । पौडेलका साथै वडाध्यक्ष टुङ्गनाथ आचार्य, स्थानीय गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बीउ सङ्कलन गरेर बिक्रीका लागि काठमाडौं, पोखरा र बेनी पठाउने गर्छन् ।  

स्थानीय नवराज शर्मा यसवर्ष गाउँभरिमा सबैभन्दा धेरै ९७ किलो काँक्रोको बीउ उत्पादन गरेर नौ लाख ७० हजार आम्दानी गर्न सफल भएका छन् । उत्पादन भएको काँक्रोको बीउले राम्रो मूल्य पाएपछि  किसान उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बीउ उत्पादन गरेर गाउँमा दुईदेखि तीन करोडसम्म भित्र्याउने गरेका छन् । 

पछिल्ला केही वर्षयता काँक्रो र गोलभेडाको बीउले राम्रो मूल्य पाउन थालेपछि विदेश पुगेका युवासमेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताए । तरकारी र बीउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् ।

यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्दछ । ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ । बीउबाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ । 

यहाँका स्थानीयले धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेसाका रूपमा अपनाएका छन् । धाइरिङ बाहेक जिल्लाको फलेवास नगरपालिका–१० कर्घा, वडा नं ११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छामा पनि काँक्रोको बीउ उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस