प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १८ : २२
प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति  पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनः स्थापनका लागि अविश्राम र अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे। “प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कन्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उनले भने । 

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। “नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनामा तपाईँहरूको संघर्ष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईँहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु”, उनले भने ।

प्रतिक्रिया दिनुहोस