अरनिको राजमार्ग विस्तारले बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १४ : ५५
अरनिको राजमार्ग विस्तारले बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

काठमाडौं। अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमा स्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ ।यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको जनाइएको छ ।

हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्‌का खम्बा धमाधम गाड्न शुरू गरी गाडिएका विद्युत्‌का खम्बामा ‘एङ्गल’ राख्ने काम भइरहेको छ । यसपछि तार टाँगिनेछ ।धुलिखेलतर्फबाट बुडोलसम्म खम्बा गाडीसकेपछि मुख्य बजार बनेपामा भने विद्युत् व्यवस्थापनमा समस्या देखिएको हो ।

सडक दायाँबायाँका घरका झ्यालमा विद्युत्‌का तार पुग्ने भएकाले व्यवस्थापनमा कठिनाइ देखिएको हो ।जोखिम धेरै हुने भएकाले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले बजार क्षेत्रभित्र खम्बा राख्ने स्थानको खोजी गरिरहेको जनाएको छ ।

 

 

 

 

 

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बनेपा बजार क्षेत्रमा विद्युत्‌बाट कुनै पनि समस्या ननिम्त्याउन दीर्घकालीन समाधान खोजिरहेको बताए । 'बजार क्षेत्रका बासिन्दा निकै आतङ्कित देखियो, हामी समाधान खोजिरहेका छौं,' उनले भने । उनका अनुसार त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । 

पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । सूर्यविनायक–धुलिखेल सडक खण्ड निर्माणमा २७ प्रतिशत प्रगति भएको हो । सूर्यविनायक–साँगा खण्डमा २५ र साँगा–धुलिखेल खण्डमा ३० प्रतिशत निर्माण कार्य सकिएको छ ।

साइड पर्खाल, कल्र्भटलगायतका महत्त्वपूर्ण निर्माणका कार्य ८८ प्रतिशत सकिएको छ । तीन वर्षमा सक्नेगरी विस्तार कार्य थालिएको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो । 

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्गमा प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ ।​

विस्तारअन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको छ भने धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन विस्तार क्षेत्र खाली गरी आवश्यक स्थानमा पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस