त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशत छुट

ज्योती तिलाञ्जलि

विहीबार, १८ असोज २०७५, १६ : ५४
त्रिविका विद्यार्थीलाई उपचारमा ९० प्रतिशत छुट

काठमाडौँ । धेरैलाई थाहा नहुन सक्छ त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई कल्याणकारी योजनाअनुरुप स्वास्थ्योपचार सुविधा उपलब्ध  गराइरहेको छ ।  विद्यार्थी कल्याण तथा खेलकुद परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त योजनाअनुसार त्रिभुवन विश्वविद्यालय तथा विश्वविद्यालय  अन्तर्गतका आंगिक  क्याम्पसमा पढाउने बिरामी शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई ९० प्रतिशत छुटमा उपचार गराइरहेको हो । 

विश्वविद्यालय अन्तर्गतका राजधानी र राजधानी बाहिरका सबै आंगिक क्याम्पसमा आबद्ध शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई विश्वविद्यालयले तोकेको अस्पतालबाट सेवा लिन परिषदले आग्रह गरेको छ । राजधानीमा अध्ययनरत विद्यार्थी, शिक्षक, र कर्मचारीहरुले त्रिभुवन शिक्षण अस्पतालबाट यो सुविधा लिन सक्नेछन् भने अन्य जिल्लामा अध्ययनरत विद्यार्थी, शिक्षक, र कर्मचारीहरुले परिषद्ले तोकेको अस्पतालबाट यो सेवा लिन सक्नेछन् । 

सुरुमा ५० प्रतिशत मात्र सहुलियत दिने गरेको यस परिषद्ले आःव ०७१÷७२ बाट भने ४० प्रतिशत बढाएर ९० प्रतिशत छुटमा उपचार सुविधा दिने व्यवस्था गरेको हो ।  ९० प्रतिशत सहुलियत दिन थालेपछि भने प्रत्येक तहमा प्रत्येक विद्यार्थीसँग  प्रत्येक वर्ष भर्ना कार्यक्रममा नै रु.५०० स्वास्थ्य बिमा शुल्क लिइएको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्का शाखा अधिकृत सरस्वती गुरुङले बताउनुभयो । यो सेवा लिनका लागि विश्वविद्यालयमा अध्ययन गरिरहेको हुनुपर्ने, कर्मचारी र शिक्षकको हकमा पनि कार्यरत नै रहनुपर्नेछ । गुरुङका अनुसार गत आ.व.२०७४÷७५मा परिषदबाट जम्मा २०५ जनालाई सिफारिस गरिएको थियो । जसको उपचारस्वरुप ३ लाख ८ हजार ८ सय ६ रुपैँया खर्च भएको थियो ।  

त्रिवि तथा त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा आबद्ध शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सहुलियत दिने उद्देश्यले यस योजना अगाडि ल्याइएको परिषद्का कार्यकारी निर्देशक गंगाबहादुर मगरले जानकारी दिनुभयो । यसरी पाउने सहुलियतको सम्बन्धमा क्याम्पसका शिक्षक तथा कर्मचारीलाई जानकारी भए पनि अधिकांश विद्यार्थीहरुलाई जानकारी नहुँदा यो सुविधा लिनबाट बञ्चित भएका छन् । यस सम्बन्धी निर्देशक मगरले भन्नुभयो, “हामीले प्रत्येक क्याम्पस प्रशासनसँग यस विषयमा कुरा गरेका छौँ र विद्यार्थी संगठनहरुसँग पनि बैठक बसी विद्यार्थीलाई जानकारी गराउन सुचित गरेका छौँ । क्याम्पस प्रशासन र विद्यार्थी संगठनले विद्यार्थीहरुलाई जानकारी गराउन सकारात्मक भूमिका खेल्नुपर्दछ ।”

के के छन् त विद्यार्थी कल्याण तथा खेलकुद परिषदले नब्यहोर्ने खर्चहरु ?
१. शिक्षक कर्मचारीले ब्यहोर्नु पर्ने तोकिएको न्यूनतम उपचार खर्च, 
२. कानमा लगाउने सुन्ने उपकरण खर्च,
३. चस्मा र चस्माका लेन्स खर्च,
४. कुनै युद्ध वा जनआन्दोलनमा भएको उपचार खर्च,
५. दुर्घटनामा पर िउपचार गर्नु परेका दाँतका उपचारबाहेक अन्य अवस्थामा गरिने दाँतको उपचार खर्च, 
६. सम्बन्धित क्याम्पसमा भर्ना हुनुभन्दा अगाडि लागेको दीर्घकालीन रोग भएको मेडिकल बोर्डबाट ठहर हुन आएमा त्यस्ता विद्यार्थी कोषको सदस्य भए पनि सम्बन्धित रोगको स्वास्थ्योपचार खर्च, 
७. कुनै प्रकारको पनि औषधी खर्च,
८. नेपाल सरकारको सरकारको नीति र कार्यक्रमअनुसार निःशुल्क उपचार गर्ने भनिएका स्वास्थ्योपचार खर्च, 
९. सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च । 
 

प्रतिक्रिया दिनुहोस