राजतन्त्र फर्काउन शाह परिवार सक्रिय

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १५ : २४
राजतन्त्र फर्काउन शाह परिवार सक्रिय

काठमाडौं । थाइल्यान्डको बैंकक र त्यसपछि भारतको मुम्बईको भ्रमणका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाह श्रीलंका पुगेका छन् । पूर्वयुवराज्ञी हिमानीको ४३ औं जन्मदिन मनाउन उनीहरु श्रीलंका पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले उनीहरूको भ्रमण बैंकक र मुम्बईमा हुने जनाएको थियो । तर, पूर्वराजा ज्ञानेन्द्रसँगै हिमानीले श्रीलंकामा गत सोमबार ४३ औं जन्मोत्सव मनाइन् । कोलम्बोमा भारतका शाही परिवारका केही सदस्य, व्यापारीसँगै हिमानीले जन्मोत्सव मनाएकी हुन् । भारतको मुम्बई लगायतका ठाउँमा एक साता बसेपछि उनीहरू स्वदेश फर्किने तयारीमा छन् ।
पछिल्ला समय सामाजिक काम, धार्मिक अनुष्ठान र राजनीतिक कुटनीतिक विषयमा निर्मलनिवासबाट ससुराबुहारी सक्रिय रहँदै आएका छन् । यसअघिको बैंकक भ्रमणका क्रममा दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिएका जमर्नी निवासी व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका थिए । अम्बानी पूर्वराजालाई भेट्नका लागि जर्मनीबाट निजी बिमानमा बैंकक पुगेका थिए । उनीहरूबीच नेपालमा हिन्दु जागरण र राजतन्त्रको पुनःउदय कसरी हुनसक्छ भन्ने विषयमा विमर्श भएको बताइएको छ ।
स्रोतका अनुसार दशैंको सप्तमी तिथिका दिन उनीहरू काठमाडौं आइपुग्नेछन् । भारत बसाईका क्रममा त्यहाँका शाही खानदान, राजनीतिक व्यक्तित्व र भारतीय जनता पार्टीका नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्र र हिमानीले गोप्य वार्ता गर्नेछन् ।

हेर्दा ३४ पुगिन् ४३
सन् १९७६ अक्टुबर १ मा भारतीय सियासती खानदानमा जन्मिएकी हिमानी नेपालमा हुर्किएकी हुन् । सोही सियासत बझाङ जिल्लामा सरेको थियो । सन् २००० जनवरी २५ मा तत्कालीन शाहज्यादा तथा पूर्वयुवराज पारस शाहसँग उनको बिहे भएको थियो । त्यहाँदेखि उनी दरबारसँग पारिवारिक रूपमा जोडिइन् ।
२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि नेपाली शाही सियासतमा शाहज्यादीबाट उनले युवराज्ञीको ताज पहिरिएकी थिइन् । पारसँगको भत्किएको सम्बन्धले उनलाई सँधै केन्द्रविन्दुमा राखेको थियो । पछिल्लो समय गोरखामा हिमानी ट्रष्टका नाममा निर्माण भएको स्कुलको भवन शिल्यान्याशका बेला भने हिमानी पारससँगै देखिएकी थिइन् । त्यसअघि २३ साउनमा उनीहरू पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवका लागि नेपालगञ्जस्थित सोल्टीमा सँगे थिए ।
केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाह परिवार त्रिसरा रेस्टुरेन्टमा ‘डिनरका लागि पुगेको थियो । त्यसैबेलादेखि पारस–हिमानी सम्बन्ध साँघुरिन थालेको बताइन्छ । त्यहाँ पनि यो जोडी देखिए पनि सँगै बसेका थिएनन् । अहिले पारिवारिक सदस्यहरू एकत्रित हुने क्रम जारी रहेको छ । परिवार समेट्नका लागि पूर्ववडामहारनी कोमल राज्यलक्ष्मी शाहको भूमिका प्रमुख रहेको छ । नेपाल फर्किएर पनि छोरा पारस बाहिरमात्र बस्ने र पारिवारिक सम्बन्ध खल्लो देखेपछि उनकै आग्रहमा ज्ञानेन्द्रले पारसका लागि निर्मलनिवासको द्वार खोलेका थिए ।
कतिपयले माता सविताले दिएको सुझावका आधारमा हिमानी र पारसको सम्बन्ध सुधार हुनका लागि समय लागेको बताउने गरेका छन् । पतिसँग अझै केही बर्ष बस्न नहुने बसेमा अनिष्ठ हुनसक्ने सुझाव हिमानीलाई माताले भनेकी थिइन् । अहिले दुवैबीचको दूरी घटे पनि सँगै भने बस्दैनन् । हिमानी सन्तानसहित निर्मलनिवासमा बस्छिन् भने पारस बिजुलीबजारको अपार्टमेन्टमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस