पक्की घर पाएपछि रातमाटेका विपन्न दलित बस्तीमा खुशीयाली छायो

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १३ : २८
पक्की घर पाएपछि रातमाटेका विपन्न दलित बस्तीमा खुशीयाली छायो

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठकगाऊँ रातमाटेका विपन्न दलित नागरिकहरुले जनता आवास कार्यक्रममार्फत नयाँ पक्की घर पाएका छन । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाको प्राविधिक तथा आर्थिक सहयोगमा पाठकगाऊँ भित्रका पिप्ले, अर्चले, रातमाटे, पाठकगाउँ, डाँडागाउँ र चापाबोटे लगायत स्थानमा २४ ओटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खाँदबारी–८ नम्बर वडा कार्यसमितिले आफ्नो वडाभित्रका विपन्न र गरिब दलितहरुलाई छनौट गरेर घर निर्माण भईरहेको छ । 

वडाभित्र धेरै विपन्न र दलितको बस्ती रहेको भएपनि ठोस कार्यक्रम गर्न नसकिरहेको समयमा जनता आवास कार्यक्रम प्रभावकारी भएको ८ नम्बरका वडाअध्यक्ष डम्बर कटवालले बताए । चुनावको समयमा जनताको घर–घरमा भोट माग्न जाँदा वडावासीको सुखदुःखका सारथी बन्ने घोषणा गरेको र सोही घोषणालाई मूर्त रुप दिन आफै अघि सरेको वडाअध्यक्ष कटवालको भनाई छ । वडा भित्र २४ वटा घर निर्माण भईरहेको छ । प्रत्येक घरलाई ३ लाख ३० हजार रुपैया जनता आवास कार्यक्रममामार्फत अनुदान उपलब्ध हुनेछ । त्यति पैसाले घर नबन्ने देखेपछि इटाँको आकार ठूलो बनाउन लगाएर घर निर्माण सम्पन्न गरिएको छ । 

शहरी विकास कार्यालय धनकुटामा प्रपोजल पेशगरेपछि निरन्तर रुपमा सम्पर्क र फ्लोअप गरिरहयौ । प्रपोजल पास भएको खबर पाएपछि वडावासीमा खुशीयाली छाएको थियो । धनकुटाका प्राविधिकहरुको टिमले स्थलगत अवलोकन र अनुगमन गरेपछि घर बनाउन शुरु भएको वडाअध्यक्ष कटवालको भनाई छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटामा ८ नम्बर वडासमितिले वडाभित्रका धेरै पूरा झुप्रा घरहरु पुनःनिर्माण गर्नु पर्ने र गरिव विपन्न भएको देखाएको थियो । तर धनकुटाबाट आएका प्राविधिक टोलीले विभिन्न कोणबाट हेरेर २४ ओटा घरपरिवारको घर पुनःनिर्माण गर्ने निष्कर्षमा पुगेको हो ।    शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले प्रति परिवार ३ लाख ३० हजार रुपैया घर बनाउन सहयोग गरेको छ । घर बनाउने काममा स्थानीयहरु आफै खटेपछि धेरै घर निर्माण सम्पन्न भईसकेको छ । दलित र विपन्न नागरिकहरुले नयाँ पक्की घर पाएपछि उनीहरुमा खुशी छाएको छ । वडामा पहिलो पटक जनता आवास कार्यक्रम लागु भएको ८ नम्बरका वडासदस्य गजेन्द्र गुरुङले बताए । ‘जनता आवास कार्यक्रम आफ्नो वडामा सतप्रतिशत पूरा भएको छ वडासदस्य गुरुङले जानकारी दिए । 

सदरमुकाम खाँदबारीदेखी नजिकै पर्ने ८ नम्बर वडाका पाठक गाऊँमा दलित र विपन्न गरिबहरु धेरै घरपरिवारको बसोबास छ । ति मध्ये सुमन बिसुन्के, रामबहादुर रसाईली, वीरबहादुर रम्तेल, भिम बहादुर रम्तेल, नारायण रसाइली, पदम विश्वकर्मा, टेकबहादुर विश्वकर्मा र सुमन विश्वकर्माको घर निर्माण भईसकेको छ । भने अन्यको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गरिब दुखी भएको कारणले ढुङ्गा माटोको गारो भएको सानो घरमा बस्दै आइरहेको थियौँ तर सरकारले सिमेन्ट लगाएको पक्की घर बनाई दिने भएपछि आफुहरु असाध्यै खुशी भएको स्थानीय भीमबहादुर विश्वकर्माले बताए । 
नयाँ पक्की घर पाएपछि आफुहरु अत्यन्तै खुशी भएको अर्का स्थानीय कुमार विश्वकर्माले बताए । यी ठाऊँका दलितहरु दिनभरि खाँदबारी आसपासका बजारमा ज्यालामजदुरी गरेर जिवीकापार्जन गदै आएका छन । फुसको छानो भएको साना–साना झुप्रोमा रात काट्ने गरेका उनीहरुको लागि नयाँ पक्की घर पाएपछि स्थानीयमा खुशीयाली छाएको छ । 


 

प्रतिक्रिया दिनुहोस