दश लाख अक्षय कोषको योजनामा मधुवन

बुधबार, १७ असोज २०७५, ०९ : ४१
दश लाख अक्षय कोषको योजनामा मधुवन

- ज्योति तिलाञ्जलि
काठमाडौँ । मधुवन साहित्यिक प्रतिष्ठान, नेपालको नयाँ कार्य समिति गठन भएको छ । ‘लेखन र प्रसारणमा मौलिकपन - मधुवन’ नारालाई लिएर २०६६ साल श्रावणमा स्थापना भएको संस्थाको पुर्नगठन गरिएको हो ।
कवि जीवन खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा कविद्धय निशान निष्कर्ष र गौतम सागर राई रहनुभएको छ भने महासचिवमा रोशन पुन, सचिवमा एकेन्द्र खड्का अछामी, कोषाध्यक्षमा संगीता थापा चयन हुनुभएको छ ।  नेपाली साहित्यिक लेखनमा अग्रज र अनुजबिचमा रहेको खाडललाई पुर्ने र हरेक साहित्यिक विधालाई उत्तिकै सम्मान गर्ने ध्येयका साथ अघि बढेको यस संस्थाले हरेक २ वर्षमा नयाँ कार्यसमिति चयन गर्नेछ ।  

विगतमा शनिबारीय शृंखला, मधुवन वर्ष पुरस्कार, साहित्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले अबका दिनमा पनि पुराना कार्यक्रमलाई निरन्तरता दिँदै अन्य नयाँ कार्यक्रमहरु ल्याउने कुरा संस्थाका उपाध्यक्ष निशान निष्कर्षले बताउनुभयो । यस संस्थाले विभिन्न जिल्ला तथा अन्य देशहरुमा शाखाहरु खोल्ने, संस्थाको आफ्नै वेभ पत्रिका सञ्चालन गर्ने, सुचना विभागबाट अनुमति दिएर मधुवन अनलाइन रेडियो सञ्चालन गर्ने लगायत उद्देश्यहरु राखेको छ । साहित्यकार नवराज लम्सालको संरक्षकत्वमा रहेको यस संस्थाले दुई वर्षे कार्ययोजना बनाई दश लाखसम्मको अक्षय कोष स्थापना गर्ने लक्ष्य पनि राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस