एउटै कम्युनिष्ट पार्टी इतिहासको आवश्यकता : प्रचण्ड

सोमबार, २० कार्तिक २०७४, १३ : २८
एउटै कम्युनिष्ट पार्टी इतिहासको आवश्यकता : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी इतिहासको आवश्यकता भएको बताएका छन् । पार्टी कार्यालय भरतपुरमा सोमबार संयुक्त वाम गठबन्धनको जिल्लास्तरीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।


दुईतिहाई बहुमतका लागि वाम गठबन्धन भएको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति बनिसकेकोले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता कसैले रोक्न नसक्ने बताए । त्याग गरेरमात्रै एकतालाई सुदृढ गराउन सकिने विचार व्यक्त गर्दै उनले भने, नेपाली जनताको चाहना सुरुदेखि नै कम्युनिष्टहरु एक होऊन् भन्ने नै थियो । चाहेरमात्र हुँदोरहेनछ । त्यसका लागि वस्तुगत र आत्मगत स्थिति तयार हुनुपर्ने रहेछ । अहिले त्यो दुबै स्थिति तयार भएको छ । चुनावपछि पार्टी एकता हुन्छ ।
दुबै पार्टीले एकताको आवश्यकता समानरुपमा महसुस गरेर पार्टी एकताको अवस्थामा आइपुगेको प्रचण्डको भनाइ छ । उनले क्षणिक समयका लागि बुर्जुवा पार्टीसँग सहकार्य गरेपनि पार्टी एकता कम्युनिट कम्युनिष्टबीच नै हुने बताए । २०४७ सालपछि नै एउटै कम्युनिष्ट केन्द्र बनाउन खोजेका थियौँ, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, २०४७ सालमा हुन नसकेको काम २०७४ सालमा आएर सफल हुँदैछ । अब हामीले समाजवादको नयाँ मोडलमार्फत् संसारलाई केही दिनेछौँ ।


छिमेकी राष्ट्र चीनबाहेक संसारमै कम्युनिष्ट पार्टी र कार्यकर्ता धेरै लोकप्रिय भएको देश नेपाल नै भएको प्रचण्डले दाबी गरे । उनले एमाले र माओवादी केन्द्र नमिलेको भए अरु दस वर्ष सत्ताको चाबी आफूहरुको हातमा नआउने निश्चित भएको समेत बताए । चुनावी तालमेल र पार्टी एकताको सहमतिले कार्यकर्ताबीच उत्साह छाएको भन्दै अध्यक्ष प्रचण्डले चितवनमा तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा अत्याधिक बहुमतले जित्नुपर्ने बताए ।


निर्वाचनमा हाम्रो प्रबल पक्षको उपयोग गर्नुपर्छ । कम्युनिष्टहरुले पैसा बाँडेर चुनाव जित्ने होइन । संगठन बनाउने, जनताको बीचमा जाने हो । यो काम पुँजीपतिले गर्न सक्दैनन्, हामीले गर्न सक्छौँ, बैठकमा उपस्थित नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने, हाम्रो हतियार संगठन नै हो । पुँजीपतिको हतियार पैसा हो । हामीबीचको एकता र बलियो संगठनले पुँजीपतिहरुलाई हराउन सकिन्छ ।


समाजवादको नयाँ मोडलको आवश्यकता औँल्याउँदै अध्यक्ष प्रचण्डले भने, लेनिनको मोडल, माओत्सेतुङको मोडल जस्ताको तस्तै लागु गर्न सकिँदैन । दुईतिहाई बहुमत ल्याएर दस वर्षभित्र देशलाई आर्थिकरुपमा समृद्ध बनाउन सकियो भने त्यो नेपाली मोडलको समाजवाद हुनेछ । नेपालको त्यो समाजवादी मोडललाई संसारका अन्य देशले पछ्याउनेछन् । हामी कम्युनिष्टहरु महत्वाकांक्षी बन्नैपर्छ । सामान्यभन्दा माथि उठेर फरक ढंगले सोच्नुपर्छ ।


संयुक्त वाम गठबन्धन, जिल्लास्तरीय निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनको अध्यक्षतामा सम्पन्न बैठकमा सहसंयोजक इश्वरी भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैठकमा आफ्ना भनाइ राख्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन क्षेत्र नम्बर एकका उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचन आफैँमा एउटा युद्धजस्तो भएको बताए । उनले निर्वाचनको यो युद्ध जित्नको लागि धेरै तयारी गर्नुपर्ने बताए ।


देशमा राजनीतिक परिवर्तन गर्नुभन्दा आर्थिक परिवर्तन गर्नु बढी चुनौतीपूर्ण काम भएको धारणा राख्दै नेता पाण्डेले चुनावमा बहुमतमात्र होइन, दुईतिहाई नै ल्याउने गरी जानुपर्ने बताए । उनले देशमा मंसिरपछि बन्ने वामपन्थीको सरकार दुईतिहाई बहुमतसहितको बनोस् भनेर निर्वाचनमा जुट्न नेता र कार्यकर्तालाई आग्रह गरे । राजाको पक्षपातीबाट यो देशमा परिवर्तन सम्भव छैन, उनले भने, पैसाको थैलीका भरमा चुनाव जित्ने जमाना गयो ।

 

प्रतिक्रिया दिनुहोस