कुम्भकर्ण भयो सरकार, जनतालाई सधैं मार

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १७ : ३५
कुम्भकर्ण भयो सरकार, जनतालाई सधैं मार

काठमाडौँ । निर्मला पन्त बलात्कारको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन । देशको गृहप्रशासनले काम गरेको छ कि छैन भन्ने भेउ समेत सरकारले पाउन सकेको छैन । नागरिकको अवस्थामा विगतको भन्दा कुनै बदलाव आएको छैन । विकास निर्माणका काममा रकम खर्च हुन सकेको छैन । भूकम्प पछिको पुनः निर्माणको अवस्था पनि उस्तै दुरुहपूर्ण रहेको छ । यी र यस्ता कारणले गर्दा सरकारको गतिमा कोही वा कसैले नै गत्यावरोध त गरिरहेको छैन भन्ने प्रश्न उठेको छ ।
सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारको प्राथमिकता निर्धारण गर्न सकेका छैनन् । जसका कारण सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठ्न थालेको छ । हरेक विषयमा असहिष्णु बन्ने उनको कार्यशैली र तरिकाले धेरैलाई दुःखी बनाएको छ । सरकार भनेको अभिभावक हो भन्ने मान्यताबाट सरकार विमुख हुँदै गएको भनेर आलोचना बढ्न थालेको छ । सरकारको काम गर्ने शैलीमा समेत नयाँपन देखिएको छैन ।
सरकार आफैले खारेज गरेको यातायात समितिका पदाधिकारीसँग मिलेर चाडबाडको मुखमा सवारी साधनको भाडा वृद्धि गरेर नागरिकको जीवनलाई थप कष्टकर बनाएको छ । विकास निर्माणका काममा चरम बेथिति छन् । सरकारी निकायहरु निकम्मा बनेका छन् । सरकारी मान्छेहरुले कोही कसैप्रति पनि जवाफदेही बन्न नपर्ने जस्तो व्यवहार देखाएका छन् ।
चिनी, खाद्यान्न लगायत बजारमा हरेक सामानको मूल्य नबढेको पाउन मुश्किल छ । तर पनि सरकार र सरकारमा रहनेहरुले आर्थिक समृद्धिको भाषण गर्न छाडेका छैनन् । कमिसनको बलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीले माग्दै नमागेको माग पूरा गरिदिएका छन् । यातायात व्यवसायीले सवारी साधनको भाडा बढाउने माग नै गरेका थिएनन्, उनले बढाइदिए । ठेकेदारलाई कारबाही गर्नबाट समेत उनले नै रोकेका छन् ।
अर्थमन्त्रीको व्यवहार पनि चित्तबुझ्दो छैन । सरकार दुईतिहाईको छ, तर कार्यशैली र व्यवहार भने विगतको गठबन्धन र त्रिशंकु सरकारको जस्तो रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी हवाई माफियाको चंगुलमा फसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस