गायन क्षेत्रमा जम्दै सञ्चारकर्मी निर्मला

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १६ : ०३
गायन क्षेत्रमा जम्दै सञ्चारकर्मी निर्मला

धनगढी । एकै व्यक्ति तर दुई वटा परिचय । सञ्चार क्षेत्रमा निर्मला खडायत, संगीतिक क्षेत्रमा निरु । लामो समयदेखि निर्मला पत्रकारितामा क्रियाशील छिन् । उनले विभिन्न रेडियोमा काम गरिसकेकी छिन् । उनको परिचय यतिमा मात्र सिमित रहेन अब । पत्रकारिताको मध्यमबाट आवाजविहीनको आवाज बनिरहेकी निर्मला पछिल्ला केही वर्षदेखि निरु खडायतको रुपमा सांगीतिक क्षेत्रमा लागिरहेकी छिन् ।
सुरिलो स्वरकी धनी निर्मलाले ३ दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छिन् । देउडा, लोक, आधुनिक गीतहरुमा आवज भरिसकेकी सञ्चारकर्मी निर्मलालाई  स्थापित गायिका भएर अगाडि बढ्ने मन छ । उनी भन्छिन्, ‘दर्शक, स्रोताबाट मैले राम्रो सुझाव पाएकी छु । आगामी दिनमा अगाडि बढ्न थप हौसला मिलेको छ ।’
‘आफ्ना मान्छे पराई भइगया’, ‘साई सुदूर सुवा माल’, ‘सोल्टासोल्टी’, ‘सौराइ रुमालैमा’ र ‘कहिले लायो चोखा तेरा मेरा पिरतीमा’ लगायत हुन् । ‘भेटाई देऊ न मेरी मायालु’, ‘पढ्नै मन लाग्दैन’, ‘बोटल काफी छ’ उनले आवाज दिएका चर्चित गीतहरु हुन् । उनलाई परिवारबाटै राम्रै सहयोग प्राप्त छ । उनी भन्छिन् ,“कान्छी छोरी भएर होला मैले सानैदेखि परिवारको राम्रो सहयोग पाएकी छु । म कलाकारितामा रुचि राख्ने भएकाले परिवारबाट राम्रो माया पाएँ, पाइरहेकै छु ।’
उनको घर कञ्चनपुर भएपनि उनले धनगढीमा पत्रकारिता गरिरहेकी छिन् । संगीतिक क्षेत्रमा लागेकी उनी भन्छिन्, ‘म सञ्चार र संगीत क्षेत्रलाई छोड्दिन, मेरो सानैदेखिको धोको पनि सांगीतिक क्षेत्र हो । त्यसकारण पनि दुबै क्षेत्रलाई सँगसँगै अगाडि बढाउँछु ।’ पछिल्लो समय उनको आवजमा रहेको देउडा गीत ‘झझल्को सम्झना तेरो’ बजारमा आएको छ । यस गीतमा निरुलाई नरेश बिकले साथ दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस