पहिलो गीत ‘आँगनै भरि’ रिलिज गर्दै नेपथ्य

विहीबार, १३ पुस २०७४, १९ : ५२

काठमाडौं । स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्यूजिक भिडियो रिलिज गर्ने क्रममा अबको ताजा सिर्जना चाहिँ ब्याण्डकै पहिलो गीत छनौट गरेको छ ।

‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ ले समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्नेछ ।

नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दा पहिले रेकर्ड भएको मात्र होइन, उसको पहिलो एल्बमकै पहिलो गीतका रुपमा समेत प्रस्तुत भएको हिसाबले यसलाई ब्याण्डकै पहिलो आधिकारिक गीत मानिँदै आएको छ । उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो । त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ ।

नब्बेको दसकको प्रारम्भमा पोखराका तीनजना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो । उनीहरु थिए दिपक जङ राणा, भीम पुन र अमृत गुरुङ । त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए । त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो ।

‘नब्बेको दसक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छु,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए ।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरु बिताइसकेको छ । त्यस क्रममा ब्याण्डले २१ जना संगीतकर्मीहरु उसका सदस्यका रुपमा भित्र्याउने र विदा गर्ने काम पनि गरिसकेको छ ।

उनीहरु सबैको योगदानको प्रतिफल नै आजको नेपथ्य हो । ‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवद्र्धन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छ ।’

यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ । बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो । त्यसैगरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो ।

‘पहिलो एल्बमका निम्ति खिचिएका तस्बिरहरु हेर्दा म यो गीत रिलिज गर्ने क्षणहरु सम्झन पुग्छु जसले मलाई यो उमेरसम्मको लामो यात्रामा आइपुग्दाका प्रारम्भिक दिनहरुको सम्झना गराउँछ,’ अमृत भन्छन्, ‘त्यतिबेला २५ वर्षे ठिटो अहिले पचास पुग्नै लागेको छु । उमेरसँगै कपाल खरानी रंगमा परिणत हुँदै गएका छन् । यसरी सबैथोक फेरिँदा पनि हामीलाई मनपराइदिने श्रोतादर्शकहरु चाहिँ सदैव उस्तैगरि जहाँको त्यही रहिरहेको, अझ वृद्धि हुँदै गइरहेको देख्दा एक किसिमको अनुगृहित हुन पुगिँदोरहेछ । उहाँहरुको साथ र सहयोग नभइदिएको भए हामीले यति लामो यात्रा तय गर्नै सक्दैन थियौं ।’

 

प्रतिक्रिया दिनुहोस