बजारमा मसानघाट !

शनिबार, १३ असोज २०७५, १६ : ५९
बजारमा मसानघाट !

चितवन । ‘जसको जतिसुकै धन दौलत भए तापनि आखिरमा काम लाग्ने त चार हात जमिनमात्रै त हो नि । जेजे भएपनि सबैको अन्तिम बासस्थान त मसानघाट नै हो’ लेखक वीरेन्द्र थापाले यसो भनिरहँदा कार्यक्रममा उपस्थित सबैजना एकफेर घोत्लिन्छन् । 
लेखक थापा चितवनका पुराना स्रष्टा । ७० वसन्तमा चढेका । कपाल सेतै भइसके, तर पनि लेखनी क्षेत्रमा युवाभन्दा कम छैनन् । उद्धरार्धको समयमा पनि उनीबाट नेपाली साहित्यले ताजगी पाइरहेको छ । 
उनको सशक्त उपन्यास बजारमा आइसकेको छ । आज नारायणगढमा उनको पहिलो उपन्यास ‘मसानघाट’ लोकार्पण भएको छ । साहित्यकार तथा समालोचक डीआर पोख्रेल, डा भोजराज अधिकारी र पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले पुस्तक लोकार्पण गरेका थिए । 
१६ वटा परिच्छेदमा संरक्षित ११८ पृष्ठको ‘मसानघाट’ सामाजिक राजनीतिक सन्देश भएको सामाजिक यथार्थवादी धाराको उपन्यास हो । यसले पञ्चायतको अन्तिमकालदेखि माओवादी जनयुद्धको मध्यकालसम्मको सामाजिक, आर्थिक र राजनीतिक अस्तव्यस्तताको विषयवस्तु समातेको छ । 
समालोचक पोख्रेल भन्छन्, ‘उपन्यासमा २ सय पात्रहरु छन्, एक दर्जन पात्रहरु सक्रिय छन् ।’ उनका अनुसार बहुदलवादीको अप्रजातान्त्रिक गतिविधि र उग्रचिन्तन बोकेको तर जनताप्रति जवाफदेही नभएको तत्कालीन माओवादी विद्रोही चर्किदै गएको सामाजिक सेटिङमा उपन्यास खडा भएको छ । 
तत्कालीन सयमको द्वन्द्वकालमा विद्रोही र सरकार पक्षबाट समाजमा फैलाइएको सन्त्रास, आतंक, जघन्य हत्याकाण्डका घटनाहरुलाई उपन्यासमा संयोजित गरिएको समालोचक डीआर पोख्रेल बताउँछन् । 
विमोचित कार्यक्रममा डा भोजराज अधिकारीले किताब लेख्नु गाह्रो विषय भएको भन्दै लेखक थापाको उच्च मूल्याकंन गरेका थिए । उनले पुस्तकले समाजको ठोस गतिविधिको यथार्थ चित्रण गरेको बताए । 
पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले शिक्षासेवी एवम् साहित्यकार वीरेन्द्र थापाको यसअघि आफूले लेखहरु पढिरहेको बताउँदै मसानबाट उपन्यासमा सामाजिक यथार्थवादी घटनालाई टिप्न सक्नु लेखकको खुबी रहेको बताए । 
लोकार्पण कार्यक्रममा नारायणी टुडेको प्रकाशक तथा सम्पादक वीरेन्द्रमणि पौडेलले उपन्यास रोचक र पठनीय रहेको बताए । लेखक थापाले यसअघि पनि शिशुको हत्यारा को ? नामको कथासंग्रह लेखेका थिए । 
पिता लालबहादुर थापा र माता रामकुमारी थापाबाट लमजुङको राइनाशमा जन्मेका थापा लामो समय शिक्षा क्षेत्रमा जीवन बिताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस