काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीको समाना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश आजको आवश्यकता भएको बताएका छन् । लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्नसक्ने कर्मचारीको छनोटमा आयोगले विशेष ध्यान दिनुपर्छ भने ।
“आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रका रूपमा सधैँ आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ”, उपराष्ट्रपति यादवले भने, “कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र भर्नाले प्रशासनिक सङ्गठनमा स्थायी खराबी प्रवेश गर्न सक्नेतर्फ आयोग सदैव सचेत हुन जरुरी छ ।”
आयोग योग्यताका सबै तत्वहरु अवलम्बन गरी परीक्षण विधिमा समयसापेक्ष सुधार र परिस्कृत गर्दै अघि बढ्नु सकारात्मक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्दै आएकामा खुसी व्यक्त गरे । “आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशीता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्तअनुसार कार्यसम्पादन गर्नु प्रशंसनीय छ, यी सिद्धान्तले आयोगको कामप्रतिको जनविश्वास पनि बढाएको छ । यसलाई कायम राख्न नितान्त जरुरी छ”, उनले भने ।
‘निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र यो सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी तथा कर्मचारी प्रशासनका विभिन्न विषयमा राय परामर्श दिनुपर्ने काम आयोगको हुने’ भन्ने पछिल्लो व्यवस्था निकै नै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
उपराष्ट्रपति यादवले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्यतम कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले ७३ वर्षयता आफ्नो मूल सिद्धान्त योग्यता, निष्पक्षता र स्वच्छतालाई प्रमुख आधार मानेर गर्दै आएको कार्यसम्पादनको उच्च प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ असार २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास