दुनियाको एकमात्र टेनस्टार होटल, यस्ता छन् सुविधा

एजेन्सी

शनिबार, ०१ असार २०८१, १० : ३३
दुनियाको एकमात्र टेनस्टार होटल, यस्ता छन् सुविधा

एजेन्सी । चारतारे–पाँचतारे होटलको बारेमा त हामीलाई थाहै छ । तर दशतारे (टेनस्टार) होटल पनि छ भन्दा आश्चर्य लाग्न सक्ला । तर पत्याउनुस, यस्तो पनि होटल छ । यस्तो दशतारे होटल दुनियाँमा जम्माजम्मी एउटा मात्रै छ । त्यो पनि दुबईमा ।

दुबईको बीच भागमा झलमल्ल अरब सागरमाथिको टापुमा छ दुनियाको एकमात्र टेन स्टार दाबी गरिएको होटल । यसको नाम हो बुर्ज अल अरब ।

कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको छ, जुन विलासिताको पर्याय बनेको छ ।

दुबईको शानदार स्काइलाइनमा चम्किरहने बुर्ज अल अरब विश्वका सबैभन्दा अग्ला होटलमध्ये एक हो । तर यसमा एउटा रोचक रहस्य लुकेको छ । त्यो के भने, यो होटलको ३९ प्रतिशत हिस्सा बस्न लायक छैन । यी खाली तलाहरुले भव्यतासँगै एक अनौठो रहस्यमयी हावा पेश गर्दछन् ।

सन् १९९९ मा जब बुर्ज अल अरब दुनियाको सबैभन्दा अग्लो होटलको रुपमा निर्माण भयो तब यो दुबईको भव्यताको एक चिनारी बन्न पुग्यो। यसको निर्माण लागत तत्कालीन समयमा १ अर्ब डलर लागेको थियो ।

जुमेराह तटबाट २८० मिटरको दूरीमा अवस्थित यो होटल आफ्नै सिँगो कृत्रिम टापुमा अवस्थित छ । यहाँसम्म पुग्नका लागि एउटा घुमाउरो पुलको प्रयोग गर्नु पर्दछ । आफ्नो अनौठो आकार तथा भव्यताका साथमा बुर्ज अल अरब केवल एक लग्जरी होटल मात्र नभई दुबईको महत्वकांक्षा तथा आधुनिकताको प्रतिक पनि हो ।

मिडिया रिपोर्ट अनुसार यो होटलमा एकरात बस्नका लागि कोठाको न्यूनतम २ लाख रुपैयाँ सम्म खर्च गर्नुपर्दछ । मूख्य सहरबाट एक निजी पुलले जोडिएको यो होटलको छतमा ६८९ फिटको उचाइँमा हेलिप्याड पनि छ ।

यो होटलमा आउने पाहुनाहरुको आगमनलाई भव्य बनाउनका लागि दुईवटा विकल्प दिइएको छ । छतमा हेलिकप्टरबाट उतारेर सिधै होटलमा छिराउने वा शाही ठाँटबाँटले सुसज्जित रोल्स रोयस कारमा ल्याउने । यो आलिशान होटलका कोठाहरु भुँइदेखि छतसम्म फैलिएका झ्यालहरुले सुसज्जित छन् । जसबाट अरब सागरको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस