काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ।
नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। उनले भने, ‘मैले बोल्न मिल्दैन।’
स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग यसअघि पनि बयान लिइसकेको छ। अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो।
बयानका क्रममा तत्कालनी शाखा अधिकृत दाहालले सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि आफ्नैजस्तो लागेको बताएका थिए। यसको फरेन्सिक जाँच काठमाडौँमा हुँदै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १० : ३९
लेखकबाट थप