पैठारीकर्तासँग १ करोड २१ लाख रुपैयाँ असुल गर्न भैरहवा भन्सार कार्यालयलाई निर्देशन

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १५ : १९
पैठारीकर्तासँग १ करोड २१ लाख रुपैयाँ असुल गर्न  भैरहवा भन्सार कार्यालयलाई निर्देशन

बुटवल । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भैरहवा भन्सार कार्यालयलाई पैठारीकर्ताहरूबाट १ करोड २१ लाख ६६ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ ।

महालेखाको प्रतिवेदनमा भैरहवा भन्सार कार्यालयबाट ३ वटा पैठारीकर्ताले भन्सार उपशीर्षकमा तोकिए भन्दा अन्य शीर्षक लगाएर रकम छुट लिएको महालेखाले ठहर गर्दै उक्त रकम असुल गर्न निर्देशन दिएको हो ।

मास्टर्स सिड्स पैठारीमा गर्दा भन्सार उपशीर्षक १२०५।१०९ रायो वा तोरीका दानाहरूबाट १० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँच पास गर्नुपर्नेमा एक पैठारीकाले खाने तेल उत्पादन उद्योगले पाउने सुविधा अन्तर्गत कोड प्रयोग गरी महसुल पूर्ण छुट लिएको  प्रतिवेदनमा देखाइएको छ ।उक्त उद्योगले खाद्यान्न उत्पादन गरेता पनि तेल उत्पादन गर्ने कारोबार थप गरेको नदेखिएकोले छुट भएको राजश्व ५५ लाख ६१  हजार असुल गर्न निर्देशन भन्सार कार्यालयलाई दिएको छ ।

चोको फ्लेक्स पैठारी गर्दा भन्सार दरबन्दी उपशीर्षक १८०६।९०।१६ को आधारमा गरिएको छ । माल वस्तुमा ४० प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँच पास गर्नुपर्नेमा विभिन्न फरक उपशीर्षकबाट साफ्टा सुविधा अन्तर्गत जाँच पास गर्दा छुट भएको राजस्व १७ लाख ३३ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

यस्तै भन्सार कार्यालयबाट सडक चिन्ह लगाउने रोजिन पाउडर पैठारी गर्दा भन्सार महसुल,अन्त शुल्क, विभिन्न छुटमा गरी आदिको अर्को उपशीर्षकलगाई ४८ लाख ७२ हजार रुपैयाँ राजस्व गुमेकोले उक्त रकम असुल गर्न पनि महालेखाले निर्देशन दिएको छ ।

भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले  रोजिन पाउडर र मास्टर्स सिड्स पैठारीकर्तालाई महालेखाको निर्देशन अनुसार नै कार्यालयले रकम भुक्तानी गर्नको लागि पत्राचार गरिएको बताए ।उनले यो विषय अदालतमा पनि पुगेको बताउँदै अदालतबाट आउने निर्णयबाट असुलीको प्रक्रियामा जाने बताए।   

प्रतिक्रिया दिनुहोस