लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस् : अमेरिका

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १३ : २९
लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस् : अमेरिका

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले बुधवार एक प्रेस नोट जारी गर्दै घुमाउरो भाषामा नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको जनाएको छ । आफ्ना लागि प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तका रूपमा रहेको पनि अमेरिकाले जनाएको छ ।

‘‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्’, दूतावासको प्रेस नोटमा भनिएको छ, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

सिरोहियालाई नागरिकताको कसुरसम्बन्धी मुद्दामा धनुषा अदालतमा उपस्थित गराइएको छ । उनलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलवार थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगेको थियो ।