दमौलीमा मध्यराति भीषण आगलागी

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, ०७ : ४०
दमौलीमा मध्यराति भीषण आगलागी

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२:४५ बजे आगलागी सुरु भएको थियो। 

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्ण रूपमा जलेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।

तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३:४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो। यहाँ विभिन्न पसल सञ्चालनमा थिए।