झापाको निन्दा र बिरिङमा बाढीको पूर्वसूचना दिने प्रणाली जडान

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १४ : २५
झापाको निन्दा र बिरिङमा बाढीको पूर्वसूचना दिने प्रणाली जडान

झापा। जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ ।पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए ।

यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो ।नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उनले बताए । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।

'उपकरण जडान गर्ने काम भइसक्यो', उनले भने, 'प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम गर्नेछौं ।'

झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनि ठूलो क्षति पुर्‍याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।

'अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौं', उनले भने, 'यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा  ठूलो सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुन्छन् ।'विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत सो प्रणाली जडान गरिरहेको जनाएको छ ।

प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा शुरू भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौं र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ ।त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस