निर्मला पन्त हत्या प्रकरण

प्रमाण नष्ट गर्नेदेखि नक्कली अपराधी खडा गर्नेसम्मको हर्कत प्रहरीबाटै

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०७५, १६ : ३३
प्रमाण नष्ट गर्नेदेखि नक्कली अपराधी खडा गर्नेसम्मको हर्कत प्रहरीबाटै

कञ्चनपुर । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना पूरा भइसकेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलालाई कसले बलात्कार गरेर हत्या ग¥यो भन्ने अझै यकिन भइसकेको छैन । अहिलेसम्म प्रहरी अनुसन्धानमै अल्मलिएको छ । हत्यारा र बलात्कारीसम्म पुग्न महत्वपूर्ण हुने सबुत, प्रमाण नष्ट गर्नेदेखि नक्कली अपराधी खडा गर्नेसम्मको हर्कत प्रहरीबाटै भएको छ । 
अझैसम्म निर्मलाको हत्यारा र बलात्कारी पत्ता लाग्न नसकेपनि निर्मलाको बलात्कार र हत्या बम दिदीबहिनीकै घरमा भएको अनुमान सर्वसाधारणको छ । सर्वत्र यही खालका तर्क र आशंका व्यक्त भैरहेको बेलामा नेपाल प्रहरीका पूर्वअधिकृत विजयकुमार श्रेष्ठले निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको र त्यसपछि प्रमाण मेटाइएको बताएका छन् ।
‘म हाल कुनै अनुसन्धान अधिकृत होइन । तर कुनै पनि घटनालाई मनोगत रुपमै ८ कोण र तलमाथिबाट बिश्लेषण गर्छु’ श्रेष्ठ भन्छन्, ‘निर्मला पन्त हत्या प्रकरणमा हालसम्म देखिएका घटनाको प्रकृति अनुसार गत साउन १० गतेका दिन निर्मलाकी आमा अपरान्ह २ बजे र ५ बजे निर्मलालाई खोज्न बबिता बमको घर पुगेको समयमा निर्मलाको जीवित वा मृत शरीर बबिता बमको घरभित्रै थियो । त्यहाँ जुन दुखद घटना भयो, त्यो भुईँ तलाको पछाडिपट्टिको कोठामा भएको हुनुपर्छ । किनभने पछाडिको कोठाबाट अगाडिको सडकमा आवाजको गुञ्जन पुग्न सक्तैन । पुगिहाले पनि अस्पष्ट हुन्छ ।’
निर्मला पन्तले पासो लगाएर मरेको हो भन्ने पार्न चकमन्न राति २–३ बजेतिर अम्बाको बोटमा झुण्ड्याएको हुनसक्ने श्रेष्ठको आशंका छ । ‘त्यसपछि आलो लासलाई बिहान ३–४ बजेको सुनसान समय मिलाएर उखुबारीमा फालेको हुनुपर्छ’ उनी भन्छन्, ‘निर्मलाको शवको कुनै पनि भागमा फोका, मुसा लगायतका साना जीवको दाँतको दाग र छाला खुइलिएको तथा निलो दाग देखिएको थिएन ।’ 
‘मानिसको बिहानको चहलपहल शुरु हुनुभन्दा अगाडि र स्यालहरुले आफ्नो बासस्थानमा फर्किने समयमा उक्त लास फालेकोले न कुनै मानिसले देख्न सक्यो, न त स्यालहरुले लुछ्ने समय पाए’ आफ्नो विश्लेषणको निष्कर्ष दिँदै श्रेष्ठ भन्छन्, ‘यस घटनाका अपराधीसम्म पुग्न घटना क्रमले योजनाकारको रुपमा देखाएका सम्पूर्ण घटनाका जानकार बम दिदीबहिनीबाटै अनुसन्धान टोलीले गन्तब्य फेला पार्न सक्नेछ । त्यो अम्बाको बोटले निर्मलालाई मारेर झुण्ड्याएको घटनाको याद दिलाई समयसमयमा तर्साइरहने हुनाले अम्बाको बोट काटेको हुनसक्छ ।’

अघिल्लो दिन सकुशल बम दिदीबहिनीको घरमा छिरेकी निर्मलाको शव भोलिपल्ट त्यो घरदेखि अलिपर नहरपारि उखुबारीमा भेटिएको छ । निर्मलाकी आमाले छोरी खोज्दै दुईपटकसम्म त्यो घरमा पुग्दा उनलाई घरभित्र छिर्न दिइएन । यसबाट पनि निर्मलाको बलात्कार र हत्या बम दिदीबहिनी बसेकै घरमा भएको हुनुपर्छ भन्ने अधिकांश स्थानीयको मतलाई नै बल पुगेको छ । के प्रहरी अनुसन्धानले निर्मला हत्या प्रकरणमा उठेका आशंकाहरु निर्मुल गर्न सक्छ ? के निर्मलाको बलात्कार र हत्या बम दिदीबहिनीकै घरभित्र भएको होइन ? होइन भने कहाँ भयो निर्मलाको बलात्कार र हत्या ? यी प्रश्नहरु अहिलेसम्म अनुत्तरित नै छन् ।
 

प्रहरीबाटै लापरबाही
प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुबाटै गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो । समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । 
गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका एसपी गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ । अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डिएसपी रमेश थापा र प्रविधिको अनुसन्धान गर्न डिएसपी कौशल अधिकारी खटिएका छन् । उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायब निरीक्षक गजेन्द्र रावल खटिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टले प्रयोग गरेका चार वटा मोवाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ । उनको डिएनए परीक्षणको रिपोर्ट आएपछिमात्रै पोलिग्राफ टेस्ट गरिने स्रोतले जनाएको छ ।
दुई महिना बितिसक्यो, अझै कति समय लाग्छ निर्मला हत्याकाण्डको अनुसन्धान गर्न ? कहिले पाउँछ निर्मलाको आत्माले न्याय ? के नेपालमा प्रहरीको संयन्त्र र अनुसन्धानभन्दा अपराधीको संयन्त्र र अपराध बलियो भएको हो ? नेपालीको जीउधनको सुरक्षा कसले गर्ने अब ? जनताले प्रश्न गर्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस