संयोजक पक्राउ परेपछि अखिल क्रान्तिकारीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, ११ : २३
संयोजक पक्राउ परेपछि अखिल क्रान्तिकारीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं। मोहन वैद्य (किरण) नेतृत्वको  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउगरी प्रहरी वृत्त बालाजुमा राखिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

 

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले गैरन्यायिक धरपकड गरेको भन्दै अखिल क्रान्तिकारीले सोमबार राति नै बालाजु वृत्तअगाडि केही समय नारा जुलुससहित कोणसभा पनि गरेका थियो ।

कोण सभालाई सम्बोधन गर्दै फ्याक्सन इन्चार्ज सीपी गजुरेलले राज्यले विद्यार्थी नेतालाई बिनाकारण गिरफ्तार गरेर पंचायतकालीन झल्को दिएको र उनलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

यसैबीच संयोजक राई गिरफ्तारीविरुद्ध अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालसहितका कार्यक्रम घोषणा गरेको हो ।घोषित कार्यक्रमअन्तर्गत आज कोण सभा गर्ने, बिहीबार गृहमन्त्रीको पुत्ला दहन गर्ने, शनिबार मशाल जुलुस गर्ने र आइतबार आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस