काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दैलेख, दुल्लु नगरपालिका-६ धाडाको जंगलस्थित सडकमा भस्नेपाटीबाट खड्केगैरातर्फ जाँदै गरेको भे.१ त ८९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका-६ खच्चे गैरा बस्ने ५५ वर्षीय मान बहादुर रावलको घटनास्थलमै र गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय कमल शाही र ट्याक्टरमा सवार ५६ वर्षीय कमारो रावलको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका-८ जलकिनेस्थित सडकमा वनदेउफबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २३ वर्षीया ईन्दिरा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बागमती प्रदेश ०१-००६ ख २७१६ नम्बरको टिपर एक आपसमा क्रस हुने क्रममा साँगुरो बाटो र मोड भएको कारण मोटरसाइकल र टिपरले अचानक ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुम्ला, सिमकोट गाउँपालिका-४ स्याम्ने हुल्दङ खोला भन्ने ठाउँमा सिमकोट बजारतर्फ जाँदै गरेको लु.४ त १४४९ नम्बरको ट्याक्टरबाट खसेर सिमकोट गाउँपालिका-२ बस्ने ५५ वर्षीया नानी बोहराको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, केराबारी गाउँपालिका-५ मदन भण्डारी राजमार्ग बगैँचा चोकमा बा.११ च २९२८ नम्बरको पिकअप भ्यानले प्र.१-०२-००२ ह ९२४४ नम्बरको अटोलाई आइतबार दिउँसो ठक्कर दिँदा अटो चालक केरावारी गाउँपालिका-६ बस्ने ४५ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु