बदनाम पप्पु कन्स्ट्रक्सनमाथि होला त कारबाही ?

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०७५, १७ : ५६
बदनाम पप्पु कन्स्ट्रक्सनमाथि होला त कारबाही ?

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादवले सांसद हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पू कन्स्ट्रक्सनलाई कारबाही भए सरकार छाड्ने चेतावनी दिएपछि रौनियारमाथि कारबाही नहुने भएको छ । उल्टै बदनाम पप्पु कन्स्ट्रक्सनले बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन बनाउन दुई अर्ब रुपैयाँभन्दा बढीको ठेक्का हात पारेको छ ।

नेपालको पूल तथा निर्माण क्षेत्रमा बदनाम सावित भएको पप्पू कन्स्ट्रक्सनमाथि छनबिन गर्न सरकारले एक समिति बनाएको छ । देशभर नै ठेक्का लिएका ३१ वटा पूलमध्ये १५ वटा पूलको निर्माण अवधि सकिएको र अरु पूलको समेत निर्माण कार्यमा व्यवधान खडा गरेको भन्दै सरकारले कारबाहीका लागि छानबिन समिति बनाएको हो । समितिलाई १५ दिन भित्र प्रतिवेदन दिन भनिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पश्चिमाञ्चल क्षेत्र सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको बताएका छन् ।

एकल र संयुक्त गरी कूल ५ अर्ब रुपैयाँ बराबरको ठेक्का लिएको पप्पूले सबै निर्माणको काम अलपत्र पारेको छ । प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पूको काम कारबाही बारे चौतर्फी विरोध आएपछि सबै कागजात मगाउन र  छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यमा ज्यादती गर्नेलाई कानुनअनुसार कारबाही हुने भन्दै छानबिन प्रक्रिया सुरु गर्न भौतिक पूर्वााधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठलाई निर्देशन दिएका थिए । पप्पूले जिम्मा लिएको राजधानीको तिनुकने पूल, परोपकारको पूल र बालाजुको पूलमा सामान्य काम समेत सुरु गरेको छैन । तीमध्ये तिनकुनेको पूल १२ करोड तथा बालाजु तथा परोपकारको पूल भने ६/६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ती पूल निर्माणका लागि सामान्य काम समेत सुरु गरेको छैन । ती पूल निर्माण गर्ने अवधि भने सकिइसकेको छ । हुलाकी राजमार्गमा पनि संयुक्त उपक्रममा पप्पूले १० वटा पूलको ठेक्का लिएको छ ।

सडक विभागकाअनुसार २०६८ सालमा जिम्मा लिएका पूल अझै पनि अधूरो रहेको छ । निर्माण व्यवसायीले आयोजना लिने र काम नगर्ने प्रवृत्ति बढेको छ । सरकारी निकाय भन्दा ठेकेदार नै बलिया भएका कारण समस्या बढेको छ । सरकारी निकायलाई प्रभावमा पारेर ठेकेदारले जिम्मा लिएको काम पूरा गरेका छैनन् । उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री केपी ओली र नेकपाका शीर्ष नेतालाई पप्पूमाथि कारबाही भए आफूहरुले बाध्य भएर सरकार छाड्ने भन्दै चेतावनी दिएपछि रौनियारलाई छानबिनको नाममा सफाई दिइने भएको छ । सफाई दिने लक्ष्यका साथ नै छानबिन समिति बनाइएको जानकारहरुको भनाई छ । पप्पूका मालिक हरिनारायण रौनियार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

पप्पूका मालिका रौनियारले भने आफूलाई बदनाम गर्ने गिरोह क्रियाशील रहेको भन्दै गुनासो गरिरहेका छन् । प्रतिनिधि सभाको बैठकमा समेत खासै नआउने रौनियार निर्माण व्यवसायको काम नै संलग्न हुने गरेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि निर्माण व्यवसायको काम छाडेको दाबी गरेपनि उनी अझै ठेक्का कसरी हात पार्ने भन्ने ध्याउन्नमा नै लाग्ने गरेका छन् । जसको पुष्टि पछिल्लो समय उनले हात पारेको नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्काले नै गरेको छ । रौनियारले ठेक्कापट्टाको जिम्मा छोरा सुमित अग्रवाललाई जिम्मा लगाएको दाबी गरेपनि उनी धेरै जसो ठेक्का पट्टामा लाग्ने गरेको र पछिल्लो दिनमा उनी आफूलाई कारबाही नगर्न भन्दै शक्तिकेन्द्र धाउन थालेको स्रोतको दाबी छ । उनले भने आफूलाई बदनाम गराउन केही प्रतिस्पर्धी समूह खुलेर लागेको दावी गर्छन । पूल निर्माणका किन ढिलाई गरेको त भन्ने प्रश्नमा उनले भने, ‘त्यो हाम्रो कारणले मात्रै होइन सरकारी कारणले नै ढिलाई भएको हो ।’

मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक श्रेष्ठ यो विषयमा केही बोल्न चाहँदैनन् । उपभोक्ता अधिकारीकर्मीले भने निर्माण व्यवसायमा गलत गर्ने पप्पूलाई कारबाही हुनबाट जोगाउन छानबिन समिति बनाइएको हुन सक्ने र त्यसले दिने प्रतिवेदन समेत सही र तथ्यपूर्ण आउनेमा आशावादी देखिएका छैनन् । पैसाको राम्रै चलखेल गर्न सिपालु रौनियारले भोतिक पूर्वाधार मन्त्री महासेठलाई मोटो रकम बुझाएको चर्चा सिंहदरबारतिर सुन्न थालिएको छ । मन्त्रीका सचिवालयका कर्मचारी र रौनियारका छोरा सुमितको पनि भेटघाट बाक्लै हुने गरेको बताइन्छ । भेटघाटमा सहभागी एक कर्मचारीका अनुसार ‘रौनियार सर जत्तिको मजाको मान्छे त यो दुनियाँमा कोही पनि छैनन्’ भन्दै मन्त्री महासेठले धाप मार्ने गरेको छन् । ओली सरकार बदनाम गराउन विशेष योग्यता राखेका महासेठका कारण नै रौनियारलाई कारबाही हुन रोकिएको र त्यसमा उपेन्द्र यादवको समेत आडभरोसाले काम गरेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस