चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी यसलाई वैज्ञानिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताउनु भएको छ । शनिवार राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन काठमाडौँले भरतपुरमा आयोजना गरेको दुग्ध जन्य पशु वस्तुको आहारा सन्तुलनका लागि मोबाइल एप्सको प्रयोगसम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रमुख दाहालले निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै व्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न किसानहरूलाई आग्रह गर्नुभयो । अबको कृषि र उत्पादन प्रणाली प्रविधिमैत्री हुनुपर्ने बताउँदै उहाँले उत्पादन लागत घटाउनु र उत्पादन बृद्धि गर्नु मुख्य बिषय भएकोमा जोड दिनुभयो । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरू अगाडि बढाइरहेको उहाँले बताउनु भयो । प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगर दुध, तरकारी, फलफूल र खद्यान्न उत्पादनको प्रमुख सम्भावना भएको क्षेत्र हो । यसको विकासका लागि आवश्यक नीति निर्माण र किसानहरु उत्पादनमा सहयोग गर्न महानगर प्रतिबद्ध छ ।’
दूध उत्पादक किसानहरूका लागि भरतपुर महानगरपालिकाले प्रोत्साहन सोरूप प्रतिलिटर २५ पैसा नगद अनुदानको व्यवस्था गरेको भन्दै उहाँले आगामी बर्षदेखि यसलाई बढाउँदै लैजाने बताउनुभयो । प्रमुख दाहाले मोबाइल एप्स तालिममा सहभागी किसानहरूलाई तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष बालकृष्ण उप्रेतीले सन्तुलित र गुणस्तरीय आहाराको अभावका कारण उत्पादन लागत बढ्नुका साथै किसानहरू पशुपालन पेसाबाट विस्थापित भैरहेको अवस्थामा यस मोबाइल एप्स र यस सम्बन्धी तालिम किसानहरूलाई व्यावसायिक उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा व्यावसायीक किसान महासंघका उपाध्यक्ष भागिरथ तिमिलसिनाले कृषिलाई व्यावसायीक र आत्मनिर्भर बनाउने सवालमा सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहॉले भरतपुर महानगरपालिकाले कृषि र दूध उत्पादनको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गर्नुभयो ।
तालिममा चितवन र नवलपुरका गरी २६ जना अगुवा किसान सहभागिरहेका छन् । चितवनमा दैनिक २ लाख लिटर दूध उत्पादन हुने गरेको छ भने त्यसको आधा हिस्सा भरतपुर महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस