काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो।
आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ।
नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ।
नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ। इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो। युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए।
नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ।
यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०८ : ३५
लेखकबाट थप