सर्पदंशबाट बालक मृत्युको विषययमा छानविन समितिले भन्यो– ‘स्वास्थ्यकर्मीले पदीय जिम्मेवारी देखाएनन्’

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, १५ : २७
सर्पदंशबाट बालक मृत्युको विषययमा छानविन समितिले भन्यो– ‘स्वास्थ्यकर्मीले पदीय जिम्मेवारी देखाएनन्’

चितवन । सर्पदंशबाट निधन भएका बालक सलिन विकको सम्बन्धमा गठिन छानविन समितिले आज प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख लक्ष्मी महतोले प्रतिवेदन सार्वजनिक गर्दै बालकको उपचारमा पदीय जिम्मेवार नदेखिएको बताउनुभएको छ । 

भदौ २१ गते राति सर्पले डसेपछि बालक सलिनलाई परिवारले भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालले पीआईसीयू नभएको भन्दै बालकको उपचार नगरी पुरानो मेडिकल कलेज रिफर गरेको थियो । यस घटनामा छानविन समितिको प्रतिवेदनमा तत्काल ड्यूटीमा रहेका मेडिकल अधिकृत, अनकल विशेषज्ञ डा, स्टाफ नर्स र अहेवबाट पदीय जिम्मेवारी वहन नभएको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा बालकको उपचारको लागि सुरुमा भरतपुर अस्पताल ल्याइएको आरम्भमा स्टाप नर्स प्रमिला कार्की, अहेव आनन्द चौधरी बालक हेरका र त्यति नै बेला विषको लक्षण नदेखिएको जनाइएको छ । बालकको विषयमा ड्यूटीमा रहेका मेडिकल अफिसर डा महेन्द्र पन्तलाई जानकारी गराएका  पन्तले बालरोग विशेषज्ञ डा उन्नत श्रेष्ठलाई टेलिफोनमा बालकको विषयमा अवगत गराएका कुरा प्रतिवेदनमा छ । डा श्रेष्ठले टेलिफोनबाट पीआईसीयू भएको ठाउँमा रिफर गर्न निर्देशन दिएका कुरा प्रतिवेदनमा राखिएको छ । 

‘बिरामीको अवस्थालाई प्रत्यक्ष जाँच नगरी टेलिफोनबाट पीआईसीयू भएका ठाउँमा आदेश गर्ने अनकल बालरोग विशेषज्ञ आफ्नो जिम्मेवारी वहन नगरेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनमा भरतपुर अस्पतालपछि अन्य अस्पतालहरु पुरानो मेडिकल कलेज, निको अस्पताल, नारायणी सामुदायिक र चितवन मेडिकल कलेजले बालकलाई रिफर गरिएको कुरामात्र समेटिएको छ । प्रतिवेदनमा अन्य चार अस्पतालको विषयमा बालक पुनः भरतपुर अस्पताल रिफर गर्नुमा कुनै गल्ती, कमजोरी या मानवीय त्रुटि कुनै कुरा उल्लेख गरिएको छैन । 

प्रतिवेदनमा भरतपुर अस्पतालमा आकस्मिक कक्षका विभागीय प्रमुखको हैसियतले आफ्नो मातहतका विभागका चिकित्सकलगायत प्राविधिक कर्मचारीहरुलाई सर्पदंशको उपचारको सम्बन्धमा भविष्यमा यस प्रकारको घटना नदोहोरिने गरी होसियारी अपनाउन सचेत गराइएको छ । 
भरतपुर अस्पतालमा बच्चाको लागि आवश्यक पर्ने पीआईसीयूको व्यवस्था नहुनु, सर्पदंशको पछिल्लो अद्यावधिक उपचार पद्धतिको अभिमुखीकरण नगराइनु, आकस्मिक कक्षमा लामो समयदेखि सीसीटीभी क्यामेरा बिग्रदा समेत समयमै मर्मत सम्भार गरी सञ्चालन नगरिनु व्यवस्थापकीय कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा आगामी दिनमा अस्पतालहरुमा यस्ता घटनाहरु दोहोरिन नदिन गर्नुपर्ने आन्तरिक एवम् बाह्य सुधारका उपायहरु दिइएको छ । पीडित बालकको आर्थिक अवस्था ज्यादै कमजोर भएको हुनाले उचित राहत रकम र रोजगारीको व्यवस्था गर्न पनि प्रतिवेदनमा भनिएको छ । 

छानविन समितिका आमन्त्रित सदस्य सर्पदंशमा पीएचडी गरेका डा देवप्रसाद पाण्डेले प्रतिवेदनमा नोट अफ डिसेन्टसहित हस्ताक्षर गरेका छन् । उनले नोट अफ डिसेन्टमा सर्पले डसेको बालकको भरतपुर अस्पतालका डाक्टरले प्रतिविष औषधि नदिई अन्य अस्पताल रिफर गर्ने डाक्टरको लिखित बयान नै नलिई प्रतिवेदन तयार पारिएको उल्लेख गरेका छन् । 

डा पाण्डेले फोन संवादको भरमा बिरामीको प्रत्यक्ष निगरानी नै नगरी बालकलाई रिफर गरिनु लापरबाही भएको र प्रतिवेदनमा त्यो कुरा उल्लेख नगरिएकोमा आफूले नोट अफ डिसेन्ट जनाएको बताउनुभएको छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बालकको मृत्युमा मुख्य दोष सरकारी अस्पतालको भएको बताउनुभयो । उहाँले सरकारी र निजी अस्पतालबीच सञ्चार नभएको र अस्पतालहरु कर्तव्यबाट च्यूत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो घटनाबाट भरतपुर अस्पताल उम्कन पाउँदैन, कुनै छुट पनि पाउँदैन । सबै अस्पताल मिलेर पीडितलाई राहत दिलाउनुपर्छ ।’ प्रजिअ बस्नेतले प्रतिवेदनमा लेखे पनि नलेखे पनि घटनामा गल्ती गर्नेहरुलाई  विभागीय कारबाही गर्न लिखित पत्र पठाउने बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस