डोल्पामा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु, शोकमा डुब्यो सिङ्गो गाउँ

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १३ : ४४
डोल्पामा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु, शोकमा डुब्यो सिङ्गो गाउँ

डोल्पा। ​हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।गत बिहीवार आगलागी घटनामा परेका तीनै जना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रवार र दुई जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा एक जना राति र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ ।

काठमाडौंमा मृत्यु हुनेमा १२ वर्षीया विवश बुढा र वर्ष १३ का समन्त बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको र बचाउनका लागि धेरै प्रयास गर्दा नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको उनले बताए ।आगलागीमा परेर एक घरका दुई बालबालिकाको मृत्यु भएको उनको भनाइ छ ।त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौं पुर्‍याइएको थियो ।

डोल्पामै गत मङ्गलवार ठूलीभेरी नगरपालिका-४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।घाइते बालबालिकाको उद्धारको लागि हेलिकप्टर भाडा मात्रै साढे सोह्र लाखभन्दा धेरै खर्च आएकाले यसका लागि त्रिपुरासुन्दरी नगरपालिका, कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस