नयाँ वर्षमा नेता खनालको आह्वान- घमण्ड त्यागौं, कम्युनिस्ट आन्दोलन पुनर्गठन गरौं

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १२ : ५८
नयाँ वर्षमा नेता खनालको आह्वान- घमण्ड त्यागौं, कम्युनिस्ट आन्दोलन पुनर्गठन गरौं

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता, पुनर्गठन र प्रगतिको दशक बनाउनु पर्ने आह्वान गरेका हुन् ।

उनले ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनसमेत कम्युनिस्ट पार्टीका नेताहरूलाई आह्वान गरेका छन् ।

'कम्युनिस्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन सबै वामपन्थी समूहहरूमा म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ भन्नेजस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैबीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ,' उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले एउटा उथलपुथलपूर्ण वर्षलाई पार गरेको उल्लेख गरेका छन् । 'गत वर्षभरि देशका वामपन्थी शक्तिहरू एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रामक हुने र आफूले आफैलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरूले आफूलाई बलियो बनाउँदै लगे,' सनदेशमा उनले भनेका छन्, 'त्यसले मुलुकमा अस्थिरता, दिशाहिनता र अकर्मण्यता सृर्जना गर्यो । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकट ग्रस्त बन्दै गयो ।'

२०८० को अन्त्यमा वामपन्थी शक्तिहरू निकट आएर संयुक्त सरकारमा सहभागी बनेको भन्दै यो एउटा सकारात्मक राजनीतिक विकास भएको उनको भनाइ छ । 

काम गर्न नसकिए वर्तमान सरकारका बारेमा पनि 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने उखान मात्र चरितार्थ हुने उनको टिप्पणी छ । 'उपरोक्त काम गर्न सकिएन भने वर्तमान सरकारका बारेमा पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान मात्र चरितार्थ हुन्छ ।

त्यसैले सम्पूर्ण वामपन्थी साथीहरू ! बदलिँदो अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिको सही विश्लेषण गरौं, नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइसकेको छ भन्ने कुरालाई गहिरो समझ बनाऔँ,' उनले भनेका छन् 'समाजवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारौं, त्यसैका आधारमा एकताका आधारलाई फराकिलो पारौँ, मिल्न सकिने सवालमा मिल्दै अघि बढौँ, नमिलेका कुरामा नीतिनिष्ट ढङ्गले बहस गरौं र एकताका आधारहरूलाई फराकिलो पार्दै अघि बढौं ।'

प्रतिक्रिया दिनुहोस