उपराष्ट्रपति पुनलाई चीनको छेन्दुमा भयो यस्तो स्वागत

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०७५, १७ : ३७
उपराष्ट्रपति पुनलाई चीनको छेन्दुमा भयो यस्तो स्वागत

सिचुवान (चीन) । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ ६ दिने औपचारिक भ्रमणका पहिलो दिन बुधबार सिचुवान प्रान्तको राजधानी छेन्दु आइपुग्नु भएको छ । उहाँ सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट स्थानीय समय अनुसार दिउँसो ३ः४० बजे छेन्दु आइपुग्नु भएको हो । उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उच्च अधिकारीले स्वागत गरेका थिए । 

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार, छेन्दुमा बिहीबारबाट सुरु हुने १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति पुन चीन आइपुग्नु भएको हो । उहाँले बिहीबार बिहान १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुने घर्तीमगरले बताउनु भयो । 

आजै उच्चस्तरीय भेट गर्दै

उपराष्ट्रपति पुनसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्नुहुनेछ । बुधबार साँझ नै उपराष्ट्रपति पुन चिनियाँ कम्यूनिस्ट पार्टी सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रीभोजमा सहभागी हुनुहुनेछ । 

उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुणकुमार केसी हुनुहुन्छ । 

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपति पुनको भ्रमण टोलीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस