ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, २१ : २०
ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

काठमाडौं । ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्र्याक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ । यो कदम ओलम्पिकमा विगतको एमेच्योर खेलको सबैभन्दा बढी हेरिने घटनामध्येको एउटा प्रतीकात्मक विराम हो । एथलेटिक्स सञ्चालन गर्ने उक्त संस्थाले यस वर्षको पेरिस ओलम्पिकका लागि ट्र्याक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको बताएको छ ।

रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन् । रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ । अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भने, “यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकी हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।” अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ । यद्यपि यो कदमले पेरिस खेलहरूअघि ओलम्पिक आन्दोलनमा शक्ति सन्तुलनलाई खल्बल्याउन सक्छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले आफ्नो घोषणा प्रकाशन गर्नुभन्दा केहीअघि बुधबार बिहानमात्र आइओसीलाई आफ्नो मनसायका बारेमा ‘चेतावनी सन्देश’ दिएको कोएले बताए ।

जवाफमा आइओसीले ओलम्पिक राजस्वको आफ्नो हिस्सा कसरी खर्च गर्ने भनेर निर्णय गर्न प्रत्येक खेलका सञ्चालक निकायमा निर्भर हुने बताएको छ । “आइओसीले आफ्नो सबै आम्दानीको ९० प्रतिशत विशेषरूपमा राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) र अन्तर्राष्ट्रिय महासङ्घहरू (आइएफ) लाई पुनरवितरण गर्दछ”, आइओसीले भनेको छ, “यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल सङ्गठनहरूको सहयोगका लागि जान्छ, आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको वैश्विक विकास कसरी गर्ने भन्ने कुरा प्रत्येक आइएफ र एनओसीमा निर्भर छ ।” आधुकि ओलम्पिक प्रतियोगिताको सुरुआत एमेच्योर खेल आयोजनाका रूपमा भएको थियो र आइओसीले पुरस्कार राशि प्रदान गर्दैन । यद्यपि धेरै पदक विजेताहरूले आफ्नो मुलुकको सरकार, राष्ट्रिय खेल निकायहरू वा प्रायोजकहरूबाट भुक्तानी प्राप्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस