राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १५ : ११
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गरेका छन् । 

उक्त पदमा नेपाली काँग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको दर्ता भएका थिए । सांसद पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्तावक काँग्रेसका सांसद दुर्गादेवी गुरुङले पुडासैनी लोकतान्त्रिक आन्दोलनमा निस्वार्थरुपमा लागेर काम गरेका बताइन् । सो प्रस्तावका समर्थक काँग्रेसका सांसद नारायणदत्त भट्टले समर्थन जनाए।

सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्ताव एमाले का सांसद भगवती न्यौपानेले कम्युनिस्ट आन्दोलनमा लागेर देश र जनताका लागि शालीन र सशक्तरुपमा भूमिका निर्वाह गरेको बताइन् । उक्त प्रस्तावका समर्थक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अक्षामीले साझा सहमतिका आधारमा घिमिरेलाई उम्मेदवार बनाइएको अवगत गराए ।

एमालेका सांसद देवेन्द्र दाहालले सर्वसम्मत हुन नसके पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा उपाध्यक्ष चयन गर्न आग्रह गरे । निवर्तमान उपाध्यक्ष एवं माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले उम्मेदवार घिमिरे उक्त पदका लागि योग्य भएको बताइन् । काँग्रेसका कृष्णबहादुर रोकायाले राष्ट्रिय सभालाई सहमतिका आधारमा आफ्नो पार्टीलाई दिने अपेक्षा गरे पनि उक्त अपेक्षा पूरा हुन नसकेको गुनासो गरे । 

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले घिमिरेसँग आफूले लामो समयदेखि सहकार्य गरेको उल्लेख गर्दै विद्यमान अवस्थामा उनी उक्त पदका लागि उपयुक्त पात्र भएको बताइन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले पनि घिमिरेलाई समर्थन गरे । दुवै प्रस्तावलाई क्रमशः निर्माणार्थ प्रस्तुत गर्न दस्तखतसहितको मतविभाजका माध्यमबाट निर्वाचन हुने कार्यक्रम रहेको छ ।