दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूको गुनासो

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १८ : ५८
दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूको गुनासो

काठमाडौँ । एक दशकयता दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)द्वारा आयोजित ’नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार क्षेत्रमा बढेको चुनौती प्रति गम्भीर हुनुपर्ने बताए ।

नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा प्रस्तुति दिँदै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. अच्युत वाग्लेले एक शताब्दी भन्दा लामो इतिहास बोकेको टेलिकम क्षेत्रका बारेमा अध्ययन हुन नसकेको बताए ।

उनले नेपालको टेलिकम क्षेत्रमा आगामी ५ वर्षमा कति म्यानपावर चाहिन्छ ? कस्तो म्यानपावर चाहिन्छ भन्ने तयारी नरहेको र विश्वविद्यालयले जनशक्ति उत्पादन सुरु गर्नुपर्नेमा अध्ययनै नभएको उल्लेख गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपालमा डिजिटल ग्याप रहेको बताए । उनले दूरसञ्चार विकास कोष प्रयोग गरी निर्माणाधीन आयोजना ढिला भएकोले त्यसलाई समयमै सक्न प्रयत्न गरिरहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दूरसञ्चार, विज्ञान प्रविधि र स्टार्टअपका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएको भएकाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा उच्च प्राथमिकताका लगानीका लागि आव्हान गरिने बताए । उनले यस क्षेत्रमा संलग्नहरू तथा विज्ञहरूको साथमा अगाडी बढ्ने प्रतिबद्धता सहित सल्लाह सुझाव समेत दिन आग्रह गरे ।

नेपाल टेलिकमका सिनियर इन्जिनियर मधुसूदन दाहालले टेलिकम कम्पनीकोहरूमा सरकारी दायित्व बढ्दै गएको तथा आम्दानी भने खुम्चिँदै गएको भन्दै सरकाले यसतर्फ ध्यान दिनुपर्ने औँल्याए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले टेलिकम क्षेत्र र यशसँग सम्बन्धित कानुन दुवैकुरा समय अन्सार परिवर्तन तथा परिमार्जन हुनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस