रेक्टर र रजिष्ट्रार नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १३ : १९
रेक्टर  र रजिष्ट्रार नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै प्रदर्शन

बुटवल । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ ।

अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाइमा बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म प्रदर्शन भएको हो । सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोण सभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।

उनले भने, ‘उपकुलपतिलाई स्वतन्त्र ढंगले काम गर्न नदिइ राजनीतिक हस्तक्षेप गर्ने प्रधानमन्त्री, एमाले अध्यक्ष र शिक्षामन्त्रीले नाजायज भूमिका खेलेको हुँदा विद्यार्थीहरू आन्दोलनमा उत्रिनुपरेको हो ।’ उनले आफ्नो संगठनले त्रिविमा भइरहेको राजनीतिक भागबन्डा र हस्तक्षेपविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस