सहकारीसँगै धेरै विषय छन्, मैले सदनमा जवाफ दिन पाउनुपर्छः गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : ५८
सहकारीसँगै धेरै विषय छन्, मैले सदनमा जवाफ दिन पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि सदनमा उठेका विषयको जवाफ सदनबाटै दिन पाउनुपर्ने बताएका छन् ।मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहकारीलगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् ।

लामिछानेले आगलागी, हावाहुरीलगायत विषयमा पनि आफूले सदनमा जवाफ दिनुपर्नेमा प्रतिपक्षी नेपाली कांग्रेसका कारण रोकिएको बताए ।‘गृह मन्त्रालयको काम कारबाही, विपद् व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुनर्वासलगायतका विषयमा समेत मैले जवाफ दिन चाहिरहेको छु, तर पाइरहेको छैन,’ उनले थपे ।

 

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुरा सदनमा उठाउन पाउनुपर्ने विषयलाई भने आफूले सम्मान गर्ने रास्वपा सभापतिसमेत रहेका लामिछानेले स्पष्ट पारे ।

यद्यपि, कसैले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानबिन गर्न संसदीय समितिको आवश्यक नरहेको पनि उनले प्रस्ट्याए ।गृहमन्त्री लामिछाने सरकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रतिपक्षी कांग्रेसले उनको राजीनामा मागिरहेको छ । उनलाई संसद्मा बोल्न दिएको छैन । 

प्रतिक्रिया दिनुहोस