इलाम-२ को उम्मेदवार चयन काठमाडौँको गोप्य कोठामा हुँदैन : गगन थापा

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १५ : ४२
इलाम-२ को उम्मेदवार चयन काठमाडौँको गोप्य कोठामा हुँदैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले इलाम-२ को उपनिर्वाचनका लागि काँग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् ।

‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापतिलगायत सात जना हुनुहुन्छ । उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सीमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ । एक जना छान्दा अरुलाई अन्याय भयो भन्ने लाग्छ । कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्‍यो । चुनाव भन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्‍यो । सर्भेले अलोकप्रिय ठहर्‍याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्‍यो । होइन भने जिल्लाकै साथीहरूले निर्णय गर्नुपर्छ । नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’ महामन्त्री थापाले भने । 

शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा खुला संवाद कार्यक्रममा बोल्दै इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए । महामन्त्री थापाले भने,‘भोलि चुनाव जिताउने बेलामा उहाँहरू सबै जुट्नुपर्छ । उहाँहरू नै हो खट्नुपर्ने । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरूलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस् र जिताओस् ।’ 

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । अन्य सबै राजनीतिक दलहरूले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरे पनि काँग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन । गत भदौमा एमाले उपाध्यक्ष एवम उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।