भरतपुर भ्रमण वर्ष : राप्ती नदीमा छाडिए २० वटा घडियाल गोही

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १४ : ५९
भरतपुर भ्रमण वर्ष : राप्ती नदीमा छाडिए २० वटा घडियाल गोही

चितवन । भरतपुर भ्रमण वर्षको अवसरमा २० वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुकाईएका ती गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार राप्ती नदीमा छाडेकी हुन् ।

विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा सात वर्ष पूरा भएका घडियाल गोही छाडिएका छन् । कार्यक्रममा महानगर प्रमुख दाहालले बर्सेनि बाढीका समय घडियाल गोही बगाएर भारत जाने समस्याको दीर्घकालिन समधान खोज्नुपर्ने बताइन् ।

घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाउँ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खान मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्न सुझाव दिइन् । नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उनले बताइन् ।

‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरु भरिभराउ छन्’,उनले भनिन् ,‘महानगरपालिकाको चाहाना पनि यही हो । उत्साहजनक माहोल वृद्धि हुँदै गइरहेको छ । यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौ ।’ घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धारणा राखिन् । प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् ।

भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिए ।

घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको संख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो संख्या संकटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ । गोही संरक्षणका लागि विसं २०३० मा स्थापना भएको प्रजनन् केन्द्रले गोहीको अण्डा संकलन गरी वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिने निकुञ्जको तथ्याङ्क छ ।

निकुञ्जका अनुसार प्रजनन् केन्द्रबाट अहिलेसम्म एक हजार ९१७ वटा गोही नदीमा छाडिएको छ । राप्ती नदीमा एक हजार १६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ ।

निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३÷३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन् केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् । घडियाल प्रजनन् केन्द्रमा भाले घडियाल गोही न्यून संख्यामा उत्पादन हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस